लोकतान्त्रिक मूल्य मान्यता आत्मसात् गर्नुपर्नेमा जोड

लोकप्रिय

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य मान्यता र आदर्शलाई गहिरोसँग आत्मसात् गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पत्रकार गणेश पाण्डेद्वारा सम्पादित केपी शर्मा ओली: सपना, सङ्घर्ष र सङ्कल्प पुस्तकको प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज लोकार्पण गर्दै पूर्व राष्ट्रपति भण्डारीले लोकार्पित पुस्तकले प्रधानमन्त्री ओलीलाई समृद्ध नेपाल, सुखी नेपाली बनाउने लक्ष्य साकार पार्ने दिशामा थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्व राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीले आफ्नो सङ्घर्षमय जीवन र राजनीतिक यात्रालाई अगाडि बढाउने सन्दर्भमा देख्नुभएको सपना, गर्नुभएको अथक सङ्घर्ष र अङ्गाल्नुभएको विशिष्ट सङ्कल्पलाई थप उजागर गर्न पुस्तक महत्त्वपूर्ण भएको पनि बताउनुभयो ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार र नेकपा एमालेले समृद्ध नेपाल सुखी नेपालीको अवधारणसहित नेपाली लोकतन्त्रलाई नयाँ आयाम दिने प्रयास गरिरहेको बताउनुभयो ।

उहाँले नेपालले नाकाबन्दीको सामना गर्ने, नयाँ नक्सा प्रकाशित गर्ने, जनतामा मुर्झाएका सपनालाई जागृत गरेर विकास र समृद्धिको बाटोमा मुलुकलाई अगाडि बढाउने कुरामा  प्रधानमन्त्री ओलीको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष रहनुभएका ओलीले लोकतन्त्र प्राप्तिका लागि गर्नुभएको अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाउनुभएका सपना र गर्नुभएको नेतृत्वदायी पहललाई केन्द्रमा राखेर पुस्तक तयार गरिएको सम्पादक पत्रकार गणेश पाण्डेले जानकारी दिनुभयो ।

पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद् र सामाजिक व्यक्तित्वहरूका लेख–रचनासमेत समावेश गरिएको छ ।

ताजा समाचार

Related Articles