बाँके । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताउनुभएको छ । बाँकेमा अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका साथ महिला सहभागिता बढाइएको र नेतृत्वदायी भूमिकामा अघि बढाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि प्रेरणा र ऊर्जाको स्रोत बनेको छ ।’ जनमुक्ति सेनाको झण्डै ४० प्रतिशत सङ्ख्या महिला रहेको स्मरण गर्दै उहाँले महिला कमान्डरले नेतृत्व गरेका सबै लडाई जितिने गरेको पनि स्मरण गर्नुभयो । उहाँले हिजो क्रान्तिको नेतृत्व र रक्षा गर्ने महिलाहरूले अब फेरि समाजवादी क्रान्तिको नेतृत्व गर्ने बेला आएको बताउनुभयो ।
उहाँले अब आफ्नै वर्ग र समुदायमा फर्केर आफ्नै एजेन्डाको बलमा कसैसँग सहकार्य नगरेर एक्लै निर्वाचन लड्ने सङ्कल्पका साथ अघि बढेको जानकारी दिनुभयो ।
अध्यक्ष प्रचण्डले पार्टीले केही समय स्थगित गरेको जनतासँग माओवादी, तराई मधेश जागरण अभियान पुनः सुरु गरिएको जानकारी दिनुभयो । अभियान नवलपरासीबाट सुरु गर्नुपर्ने भए पनि महिलाको प्रदेश सम्मेलनसँगै लुम्बिनीबाट अभियान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।