हेटौँडा, चैत २० गते ।
हेटौँडा उपमहानगरपालिकाले अटिजम भएका बालबालिकालाई लक्षित गर्दै विद्यालय सञ्चालन गर्ने भएको छ । हेटौँडा उपमहानगपालिका ११ स्थित थानाभ¥याङमा विद्यालय सञ्चालन गरिनेभएको हो ।
विश्व अटिजम जनचेतना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाले उपमहानगरले बालबालिकालाई लक्षित गर्दै विद्यालय सञ्चालन गर्न बजेट व्यवस्थापन गर्ने जानकारी दिनुभयो ।
पछिल्लो समय अटिजम भएका बालबालिकाका अभिभावकले निजी क्षेत्रबाट सञ्चालन भएका विद्यालयबाट चर्को शुल्क असुलेको गुनासो गरेको भन्दै उहाँले अब सबै खालका परिवारलाई लक्षित गर्दै उपमहानगरले विद्यालय सञ्चालन प्रक्रिया अघि बढाएको बताउनुभयो ।
जनचेतना दिवसको अवसरमा हेटौँडा–४ मा रहेको सेन्टर फर अटिजममा भएको अभिभावकसँगको कार्यक्रममा नगर प्रमुख लामाले अटिजम र शारीरीक अशक्त बालबालिकालाई एकै ठाउँमा राख्दा अहिले समस्या देखिएको बताउनुभयो ।
अहिले आफ्नो बालबालिकाको अवस्था पहिचान नगरी मन्टेश्वरी, निजी विद्यालयका कक्षाहरुमा राखेपछि समस्या झनै बद्दै जान्छ यो विषयमा अभिभावक आफै सचेत भएर बालबालिकाको अवस्था बुझ्न जरुरी रहेको उहाँको भनाई छ ।
अहिले सेन्टर फर अटिजममा उपमहानगरपालिका क्षेत्रका ३२ जना बालबालिका अध्यरत छन् । कार्यक्रममा सेन्टर फर अटिजमका उपाध्यक्ष शेखर थपलियाले अभिभावकले बालबालिकाको अवस्था नबुझ्दा समस्या भईरहेको भन्दै अहिले मन्टेश्वरी, निजी क्षेत्रका नर्सरी कक्षा, अन्य विद्यालयमा बालिकालिकालाई अभिभावकले पठाउँदा भोलिका दिनमा समस्या हुने बताउनुभयो ।
सेन्टर फर अटिजमका अध्यक्ष हरिकृष्ण मैनालीको अध्यक्षतामा भएको जनचेतना दिवसको कार्यक्रममा सचिब अस्मिता कालिका, कोषाध्यक्ष निश्ला श्रेष्ठ, सदस्य उमा पौडेल, थेरापिष्ट डाक्टर श्रमिका श्रेष्ठको आतिथ्यता रहेको थियो ।