काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अबदेखि तीनकुने र आसपासको क्षेत्रमा कोही कसैलाई पनि प्रदर्शन गर्न नदिन सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले तीनकुने र आसपासका क्षेत्रमा प्रदर्शन गर्न नदिन, चैत १५ को राजावादीको प्रदर्शनमा आपराधिक गतिविधिमा संलग्न सबै दोषीमाथि कारबाही गर्न तथा संलग्न सबैलाई कानूनी दायरमा ल्याउन, यस्ता घटना दोहोरिनबाट रोक्न र गणतन्त्रको रक्षामा लाग्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी साधन स्रोत पर्याप्त बनाउने उचित बजेटको व्यवस्था गर्न पनि निर्देशन दिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।
बैठकमा गृहमन्त्री रमेश लेखकले चैत १५ मा भएको तीनकुने घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो ।
गृहमन्त्री लेखकले तीनकुने घटना संविधान मास्ने र व्यवस्था उल्ट्याउने मनसायले राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेकै कारण जनधनको क्षति हुन पुगेको बताउनुभयो ।
गृहमन्त्री लेखकले घरमाथि मान्छे छ भन्ने थाहा पाउँदा पाउँदै आगो लगाउने, व्यक्तिका निजी घर, राजनीतिक दलका पार्टी कार्यालय नीजि र सरकारी सवारी साधनहरू, उद्योग, व्यापारिक केन्द्रमाथि आक्रमण भयो, आगो लगाउने काम गरेर राजावादीहरूले हिंसात्मक, अमानवीय र उच्छश्रृंखल कार्य गरेको बताउनुभयो ।
घटनामा परि मृत्यु भएका सविन महर्जन र सुरेश रजकको परिवारलाई दश–दश लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेर रकम निकासाका लागि प्रक्रिया अगाडि बढाइएको र सबै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको पनि गृहमन्त्री लेखकले जानकारी गराउनुभयो ।
नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाले शान्तिपूर्वक भनिएको आन्दोलनमा ३९ भन्दा बढी समूह बनाई विभिन्न ठाउँबाट जुलुस निकालिएको र भिड अराजक बनेपछि अगाडि बनाइएको सुरक्षा योजनाभन्दा भिन्न तरिकाले जानुपर्दा परिस्थिति असहज बनेको बताउनुभयो ।
उहाँले सीमित स्रोत साधन रहेको भए पनि प्रहरी कमभन्दा कम क्षति हुने गरी अघि बढेको समेत बताउनुभयो ।
२ जनाको निधन भएको, ३९ गाडीमा आगजनी र तोडफोडबाट क्षति भएको प्रहरीले जनाएको छ । घटनामा नेपाल प्रहरीका ५५ जना र सशस्त्रका २५ जना घाइते भएको जानकारी समितिमा गराइएको छ ।
घटनापछि १२ जना महिलासहित १ सय ६१ जनालाई पक्राउ गरिएको, २० जनालाई राज्यद्रोहको मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको र ५८ जनालाई आपराधिक उपद्रोमा अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले तीनकुने घटनामा अवस्था गम्भीर बनेपछि आवश्यकताको आधारमा बल प्रयोग भएको जिकिर गर्नुभयो ।
बैठकमा सांसदहरुले तीनकुने जस्तो संवेदनशील क्षेत्रमा आन्दोलनका लागि अनुमति दिन नहुने, घटनाको निष्पक्ष छानविन हुनुपर्ने, सुरक्षा निकायलाई प्रभावकारी बनाइनुपर्ने, संविधान विरोधी क्रियाकलाप रोक्नुपर्ने लगायतका विषयमा धारणा राख्नुभएको थियो ।