सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय प्रगति

लोकप्रिय

बाँके । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्दियाको समग्र विकासलाई प्राथमिकता दिइने बताउनुभएको छ ।

जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्तरगत हुलाकी राजमार्गमा पूर्वदेखि पश्चिमसम्मका जिल्लामा तराई मधेश जागरण अभियानका क्रममा बर्दियाको मधुवन पुग्नुभएका अध्यक्ष प्रचण्डले सभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो।

अध्यक्ष दाहालले बर्दियाको पर्यटन विकास, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले हुलाकी राजमार्गको काम लामो समयदेखि अवरुद्ध रहेको उल्लेख गर्दै आफ्नै दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा भारत सरकारको सहयोगमा गति ल्याइएको स्मरण गर्नुभयो ।

प्रचण्डले बेपत्ता तथा सहिद परिवारलाई प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिएको जानकारी दिँदै राज्यकै राजपत्रमा समेत अभिलेखीकरण गरिएको जिकिर गर्नुभयो । सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी कार्य कानुनी रूपमा अब कुनै अवरोध नहुने उल्लेख गर्नुभयो ।

सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै उहाँले १५ लाखभन्दा बढी वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको बताउनुभयो । उहाँले लोकतान्त्रिक मूल्य मान्यता र जनताको आकाङ्क्षालाई केन्द्रमा राखेर सरकारका गलत कामलाई सार्वजनिक गर्न तराई मधेश जागरण सभा सुरु गरिएको बताउनुभयो।

कार्यक्रममा माओवादीका उपाध्यक्ष पम्फा भुसाल, नेता कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, अग्नी सापकोटा, नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो ।

ताजा समाचार

Related Articles