हेटौँडा, चैत २८ गते ।
मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी बजारमा गएराति बस दुर्घटना हुँदा पशु चिकित्सकसहित ३० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले धरान–चतरा सडक खण्डमा पर्ने उक्त स्थानमा सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०२७० नम्बरको बस अनियन्त्रित भई घुम्तीमा एक्कासि पल्टँदा बस दुर्घटना भएको जनाएको छ । प्रहरीका अनुसार गएराति दुर्घटना भएको बसमा चालकसहित ३१ जना सवार थिए ।
बसमा मकवानपुरको भीमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाले भ्रमण लगेको अगुवा कृषकलगायत यात्रारत रहेका थिए । घाइतेमध्ये भीमफेदी गाउँपालिका ३ बुम्लिङ बस्ने वर्ष ४६ का श्रीराम बज्युको पुरानो केडिकल कलेज भरतपुर र भीमफेदी ५ ज्यामिरेकी रिताकुमारी मगरको नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ ।
भीमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाका चिकित्सक डा. सरोज ओझा दुर्घटनामा घाइते भई बायाँ आँखामा चोट लागेपछि चितवनमा उपचार गराउन जानुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनभयो ।
उहाँका अनुसार भीमफेदी गाउँपालिकाकी कार्यपालिका सदस्य भीमफेदी ६ की सुमित्रा लामाको अवस्था गम्भीर रहेको र उहाँको नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । यस्तै भीमफेदी ६ कै सानी आलेके नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ ।
चार जना सामान्य घाइतेभएका १० जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने बाँकी घाइतेहरुको बकैयास्थित स्वास्थ्य केन्द्र, हेटौँडा अस्पताल र हेटौँडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
बसका सहचालकलाई नियन्त्रणमा लिएको र बसका चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।