बस दुर्घटनामा परेका कर्मचारी मृत फेला

लोकप्रिय

हेटौँडा, चैत २८ गते । मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी बजारमा बस दुर्घटनामा परी घाइते भएका हेटौँडा उपहानगरपालिका १८ हर्नामाडीका विमल ढुंगाना मृत अवस्थामा भेटिनुभएको छ ।

बुधबार राति मकवानपुर सहकारी अस्पतालमा उपचारपछि स्वास्थ्य अवस्था सामान्य भएसँगै डिस्चार्ज भएर भीमफेदी गाउँपालिका–९ का वडा सदस्य उदय हटुवालको हेटौँडा–११, नवलपुरस्थित घरमा बास बसेका थिए । भीमफेदी गाउँपालिकामा पशु प्राविधिकको रुपमा कार्यरत ढुंगाना भीमफेदी गाउँपालिकाको अगुवा कृषकको भ्रमणबाट फर्कने क्रममा दुर्घटनामा पर्नुभएको थियो ।

भ्रमणका लागि लगिएको बस मृतक ढुंगानाको स्वामित्वमा रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ढुंगानालाई झुण्डिएर मृत अवस्थामा फेला पारिएको थियो ।

भीमफेदी गाउँपालिका–९ का वडा सदस्य उदय हटुवाल बुधबार राति दुर्घटनामा घाइतेहरुको उपचारका लागि सहयोग गर्न भनी हेटौँडाका विभिन्न अस्पताल पुगेको र उपचारपछि डिस्चार्ज भएका ढुंगानासहितलाई आफ्नै घरमा लगेर राखेकोमा बिहान ढुंगाना भने मृत भेटिएका हुन् ।

उक्त दुर्घटना हुँदा भीमफेदी गाउँपालिकाकी कार्यपालिका सदस्य, पशु चिकित्सकसहित ३० जना घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले धरान–चतरा सडक खण्डमा पर्ने उक्त स्थानमा सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०२७० नम्बरको बस अनियन्त्रित भई घुम्तीमा एक्कासि पल्टँदा बस दुर्घटना भएको जनाएको छ । प्रहरीका अनुसार गएराति दुर्घटना भएको बसमा चालकसहित ३१ जना सवार थिए ।

बसमा मकवानपुरको भीमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाले भ्रमण लगेको अगुवा कृषकलगायत यात्रारत रहेका थिए । घाइतेमध्ये भीमफेदी गाउँपालिका ३ बुम्लिङ बस्ने वर्ष ४६ का श्रीराम बज्युको पुरानो केडिकल कलेज भरतपुर र भीमफेदी ५ ज्यामिरेकी रिताकुमारी मगरको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

भीमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाका चिकित्सक डा. सरोज ओझा दुर्घटनामा घाइते भई बायाँ आँखामा चोट लागेपछि चितवनमा उपचार गराउन जानुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनभयो ।

उहाँका अनुसार भीमफेदी गाउँपालिकाकी कार्यपालिका सदस्य भीमफेदी ६ की सुमित्रा लामाको अवस्था गम्भीर रहेको र उहाँको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । यस्तै भीमफेदी ६ कै सानी आलेके नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइतेभएका १६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने बाँकी घाइतेहरुमध्ये चितवनस्थित अस्पतालमा आठ जनाको र छ जनाको हेटौँडास्थित अस्पतालमा उपचार भइरहेको छ ।

बसका सहचालकलाई नियन्त्रणमा लिएको र बसका चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ताजा समाचार

Related Articles