पश्चिम नवलपरासी, वैशाख ३ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकका माग सरकारले समयसीमा तोकेर समाधान गर्नुपर्ने बताउनुभएको छ। ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान’ अन्तर्गत नवलपरासी आउनुभएका अध्यक्ष प्रचण्डले बुधबार साँझ सदरमुकाम परासीमा भएको पत्रकार भेटघाट कार्यक्रममा फास्ट ट्रयाक बाट शिक्षकका माग सम्बोधन गर्नुपर्ने बताउनुभएको हो।
तत्काल सम्बोधन गर्न सकिने विषय मन्त्रिपरिषदले गर्ने र संसदको अधिवेशन आह्वान भइसकेकाले समय तोकेर ऐन जारी गर्ने प्रतिबद्धता जनाएर शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउनुपर्नेमा प्रचण्डको जोड थियो।
अध्यक्ष प्रचण्डसहितका नेताले आज प्रतापपुर र पाल्हीनन्दनमा आयोजित सभालाई सम्बोधन गर्नुभएको थियो भने सदरमुकाम परासीमा सरोकारवालासँग अन्तरक्रियात्मक छलफल गर्नुभएको छ।