कक्षा ८ को ग्रेड वृद्धि परीक्षा सञ्चालन नगर्न आग्रह

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ९ गते ।
नेपाल शिक्षक महासङ्घमा आवद्ध/सम्बद्ध संस्थाहरूको हेटौँडा उपमहानगर समितिले कक्षा ८ को ग्रेड वृद्धि परीक्षामा सहभागी नगर्न उपमहानगर क्षेत्रका प्रधानाध्यापकहरुलाई आग्रह गरेको छ ।  शिक्षक महासङ्घ आवद्ध छ वटा संस्थाले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
महासंघ आवद्ध संघसंगठनहरुले हेटौँडा उपमहानगपालिकाले यही वैशाख १० सञ्चालन गर्न लागेको कक्षा ८ को ग्रेड वृद्धि परीक्षा सञ्चालन नगर्न नगराउन प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरुलाई हेटौँडा उपमहानगरपालिकामा आवद्ध रहेका संघसंगठनले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन, हेटौँडा उपमहानगर समितिका अध्यक्ष कृष्णप्रसाद पोखरेल, नेपाल शिक्षक संघ, हेटौँडाका अध्यक्ष मन्दिरा फुयाल, एकीकृत अखिल नेपाल शिक्षक संगठन, हेटौँडाका विष्णुहरि गौतम, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, हेटौँडाका अध्यक्ष किरणकुमार रेग्मी, नेपाल राहत शिक्षक समिति, हेटौँडाका अध्यक्ष रत्नबहादुर स्याङ्तान र नेपाल विद्यालय कर्मचारी परिषद्, हेटौँडाका पुरुषोत्तम ढकालले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताउनुभएको हो ।
शिक्षक महासङ्घ राष्ट्रिय समितिले गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गत चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन र आम शैक्षिक हडताल आयोजना गरेको भन्दै परीक्षा स्थगित गरी सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई काठमाडौँ केन्द्रित आन्दोनमा सहभागी हुन समेत आव्हान गरिएको छ ।  
साथै विद्यालय शिक्षा ऐन जारी गराउन विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनलाई सहयोग तथा समर्थन गरी दिन विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, उपमहानगरपालिकालगायत शैक्षिक सरोकारवालाहरुमा विज्ञप्तिमार्फत भनिएको छ ।

ताजा समाचार

Related Articles