खासकुरा संवाददाता
हेटौँडा, वैशाख ११ गते ।
बागमती प्रदेश सरकारले आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयहरुलाई अभिमुखीकरण र सिस्टम हस्तान्तरण गर्दै योजना बैङ्कमा योजना प्रविष्ट गर्ने कार्य अघि बढाएको छ ।
प्रदेशको नीति तथा योजना आयोगले बिहीबार प्रदेशका १४ मन्त्रालयका महाशाखा र योजना शाखाका कर्मचारीहरुलाई एक दिने अभिमुखीकरण र सिस्टम हस्तान्तरण कार्यक्रमको आयोजना गरेको हो ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री एवं आयोगका अध्यक्ष बहादुर सिंह लामा तामाङले प्रदेश आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै योजना बैंक कार्यान्वयनमा ल्याउने बताउनुभयो ।
उक्त कार्यक्रममा विभिन्न मन्त्रालयका महाशाखा प्रमुख र योजना शाखाका कर्मचारीलाई आयोजना बैङ्कको सञ्चालन तथा व्यवस्थापन तथा योजना प्रविष्ट गर्ने प्रक्रिया, योजनाको सपोर्टिङ डकुमेन्टको व्यवस्थापन बारेमा जानकारी गराइएको थियो । आयोजना बैङ्कको औचित्य र सोको कार्य सञ्चालन, योजना प्रविष्टीकरण विधि, प्राथमिकीकरण सम्बन्धमा प्रदेश मन्त्रालयका सचिव र कर्मचारीहरुलाई जानकारी गराइएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिनुभयो ।




