काठमाडौँ, वैशाख ११ गते ।
सर्वसाधारणलाई बाटोमा कुटपिटमा संलग्न चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ ।
सर्वसाधारणलाई बाटोमा निर्घात कुटपिट गरेको घटना सार्वजनिक भए लगत्तै चारै जना ट्राफिक प्रहरीलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाई कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार कुटपिट तथा दुर्व्यवहारमा संलग्न चार जना ट्राफिक प्रहरीलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बोलाइएको छ । उनीहरुमाथि आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको प्रवक्ता गिरीको भनाइ छ । प्रवक्ता गिरीका अनुसार ती व्यक्तिमाथि गत मंसिर ११ गते काठमाडौँको सुन्धारास्थित आकाशे पुलमुनि कुटपिट भएको थियो ।

ट्राफिक प्रहरीले एक जना व्यक्तिलाई कुटपिट गरेको भिडियो बिहीबार सामाजिक सञ्जालमा सार्वजनिकभएको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ता धेरैले कुटपिट गर्ने ट्राफिक प्रहरीमाथि कारबाहीको माग गरेका छन् । भिडियोमा ट्राफिक प्रहरीले बुटले अनुहारमा हान्दै कागजपत्र फालेर दुर्व्यवहार गरेको देखिन्छ । 




