हेटौँडा, वैशाख १९ गते ।
खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका ६५ जना प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ ।
प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
गत भदौ २८ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको वैशाख ७ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६५ र खुलातर्फ १२ जना गरी कुल ७७ जना प्रहरी निरीक्षक उत्तीर्ण हुनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको वैशाख ११ गतेको निर्णयले वैशाख १४ गतेदेखि लागू हुने गरी उहाँहरू प्रहरी निरीक्षक पदमा नियुक्त हुनुभएको हो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको वैशाख ९ गतेको निर्णयले प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी निरीक्षक वीरेन्द्र कुमार कोईरालालाई समेत दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले नवनियुक्त प्रहरी अधिकृतहरूलाई पदीय मर्यादालाई मनन गरी आगामी दिनमा अझ बढी अनुशासित थप परिष्कृत एवम् व्यावसायिक भई प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढंगले वहन गर्न निर्देशन दिनुभयो ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो
