‘राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्छ’

लोकप्रिय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्नेमा जोड दिनुभएको छ ।
मार्क्सवादी ज्ञान केन्द्रले आज शनिबार आयोजना गरेको ‘गणतन्त्र अगाडि र पछाडिको नेपालः तुलनात्मक अध्ययन’ शोधग्रन्थमाथिको पृष्ठपोषण कार्यक्रममा उहाँले राष्ट्रिय दृष्टिकोण निर्माणमा दलहरूबीच बहस हुन नसक्नु दुःखद् भएको बताउनुभयो ।
पूर्वसभामुख सापकोटाले समाजवाद नै अहिलेको सर्वोत्कृष्ट राजनीतिक व्यवस्था भएकाले राष्ट्रिय पुँजीको विकास गरेर त्यसतर्फको यात्रा अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले राष्ट्रिय मुद्दामा पक्ष–विपक्ष नभई दलहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । “परराष्ट्र नीति, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, रोजगारीका एजेन्डामा साझा सङ्कल्प गर्न सक्यौँ भने मात्र मुलुकको समृद्धि सम्भव छ”, उहाँले भन्नुभयो । जनअपेक्षा पूरा गर्न सन्तुलित र समानुपातिक विकासको अवधारणा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उहाँले काँग्रेसले समाजमा देखिएको नैराश्यताको गम्भीर अध्ययन आवश्यक भएको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सचिव सावित्राकुमारी भुसालले राजनीतिक परिवर्तनपछाडिको आर्थिक तथा सामाजिक अवस्था प्रगतिपथमा रहेको उल्लेख गर्दै बहुदलपछि नवउदारवादको नक्कल गरेर राष्ट्रिय उद्योगधन्दा निजीकरण गर्दा मुलुकले दुर्दशा भोगिरहेको बताउनुभयो ।
बाग्मती प्रदेशसभा सदस्य इन्द्र गौतमले गणतन्त्रको स्थापनापछि मुलुकले फड्को मारेको जनाउँदै गणतन्त्र अघि र पछिको अवस्थाबारे तुलनात्मक अध्ययन गरेर शोधग्रन्थ प्रकाशन गर्दा राजनीतिक परिवर्तनपछिको उपलब्धिको दस्तावेजीकरण हुने बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा चन्द्रमणि अधिकारीले नागरिकको चेतना र खुलापनले अहिलेको आर्थिक र सामाजिक उपलब्धिलाई लिएर चित्त बुझाउने अवस्था नरहेको बताउनुभयो । “हिजोसँग तुलना गर्दा ‘छलाङ’ मारेका हौँ, तर यतिले मात्र पुगेको छैन भनेर स्वीकार गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अब मुलुकको नेतृत्व गर्ने दायित्व नयाँ पुस्ताको हो भनेर सिकाउनुपर्छ ।”
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक बालमुकुन्द रेग्मी र नेपाल खुला विश्वविद्यालयका उपप्राध्यापक रुमा मानन्धरले गणतन्त्रपछि मुलुकले धेरै क्षेत्रमा प्रगति हासिल गरिरहेको उल्लेख गर्दै अब समाजवादी विकासको मोडल अपनाउनुपर्नेमा जोड दिनुभयो ।
केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले गणतन्त्र अगाडि र पछाडिको नेपाल आर्थिक तथा सामाजिक विकासको अवस्थाबारे आमनागरिकलाई जानकारी दिन शोधग्रन्थ तयार गर्न लागिएको जानकारी दिनुभयो । शोधग्रन्थ अनुसन्धान संयोजक डा निमानन्द रिजालले गणतन्त्र घोषणापछि वैदेशिक ऋणको अनुपात घटेको, आन्तरिक तथा बाह्य लगानी, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षालगायत आधारभूत सुविधाको पहुँच अभिवृद्धि भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

ताजा समाचार

Related Articles