सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्टको राष्ट्रपतिसँग भेटवार्ता

लोकप्रिय

काठमाडौँ, भदौ २५ गते ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले आज शिष्टाचार भेट गर्नुभएको छ । सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राख्नुभएको थियो ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको सो भेटमा पार्कले सामसुङ कम्पनीले नेपालमा सञ्चालन गरेको विभिन्न उत्पादन तथा सोसम्बन्धी गतिविधिबारे संक्षिप्तमा जानकारी गराउनुभएको थियो ।

नेपालमा सञ्चालन गर्न सकिने उद्योग, सामाजिक उत्तरदायित्व अन्तरगत नेपाली विद्यार्थीहरूलाई उच्चस्तरको सूचना प्रविधि सम्बन्धी तालिम तथा भविष्यमा सामसुङ कम्पनी र नेपालबीच हुन सक्ने सहयोग योजना तथा सूचना प्रविधि र औद्योगिक उत्पादन सम्बन्धीका योजनाबारे पनि पार्कले सो अवसरमा जानकारी गराउनुभएको थियो ।

सामसुङ कम्पनीको प्रविधिमा आधारित रहेर गोल्छा समूहले नेपालको नवलपरासीको भूमहीमा पूर्ण टिभी जडान उत्पादन कारखाना सञ्चालनमा ल्याएको पनि सो अवसरमा जानकारी दिइयो ।

गत अप्रिलदेखि सो कारखाना सञ्चालनमा आएको जनाइएको छ । सो कारखाना पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक एक लाख वटा टिभी तयार हुने तथा एक हजार जनाले रोजगारी पाउनसक्ने बताइएको छ । राष्ट्रपति पौडेललाई सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले उक्त कुराको जानकारी गराउनुभयो ।

राष्ट्रपति पौडेलले प्रविधि हस्तान्तरण सम्बन्धी कार्यक्रम, कारखानामा तयार हुने टिभी तथा त्यसबाट यहाँ सृजना हुने रोजगारीप्रति प्रसन्नता प्रकट गर्नुभएको बताइएको छ ।

ताजा समाचार

Related Articles