पुससम्म औसतभन्दा धेरै पानी पर्ने

लोकप्रिय

काठमाडौँ, असोज २४ गते ।

यो वर्ष हिउँदका शुरुआति महीनामा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको डिसेम्बर (पुस १५ सम्म) को हावापानी आकलनअनुसार, यो अवधिमा देशभर औसतभन्दा बढी पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत छ। असोज १४ देखि पुस १५ सम्मको अवधिमा यसअघिका वर्षको सरदर तुलनामा बढी पानी पर्नसक्ने आकलन छ।

यद्यपि, सरदरभन्दा बढी वर्षा हुने सम्भावना स्थान विशेषमा फरक रहेको छ। लुम्बिनी प्रदेशका पूर्वी भाग, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका अधिकांश भूभाग र मधेश प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ। देशमा बाँकी भू-भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ।

यो अवधिमा पानी पर्ने सम्भावना बढी भएको मात्र होइन, तापक्रमसमेत बढ्ने आकलन छ। देशका अधिकांश भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत र न्यूनतम तापक्रम औसतभन्दा धेरै हुने सम्भावना ३५ देखि ६५ प्रतिशत छ। अधिकतम र न्यूनतम दुवै तापक्रम बढी हुने सम्भावना धेरै हुनुले औसत समयको भन्दा न्यानो हुनसक्छ ।

विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारुपहरूको आकलन, जल तथा मौसम विज्ञान विभागको हावापानी आकलन गर्ने प्रविधि र दक्षिणएशियाली जलवायु दृष्टिकोण मञ्चको आकलनको आधारमा यस्तो प्रक्षेपण गरिएको विभागले जनाएको छ। आकलन तयार गर्दा अक्टोबरदेखि डिसेम्बरसम्मको नेपालको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागर र हिन्द महासागरमा विकसित हुने प्रणालीको अवस्था तथा अन्तरऋतु परिवर्तनशिलताका कारकहरूलाई समेत मध्यनजर गरिएको विभागको भनाइ छ।

हाल प्रशान्त महासागरमा एल निनो प्रणाली विकसित छ। डिसेम्बरसम्म यही प्रणाली कायम रहने अन्तर्राष्ट्रिय प्रारुपहरूको आकलन रहेको छ। त्यसैगरी हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय सामुन्द्रिक तापक्रम सूचक हाल धनात्मक रहेको र आगामी डिसेम्बरसम्म धनात्मक नै रहने आकलन छ।

यस पटकको मनसुनमा भने देशका अधिकांश स्थानमा औसतको तुलनामा थोरै पानी परेको थियो। जसले धान उत्पादनमा असर पर्ने अनुमान गरिएको छ।

हिमाल खबरबाट ।

ताजा समाचार

Related Articles