हेटौँडा, माघ १९ गते ।
बागमती प्रदेश सभा सचिवालयले प्रदेश सभा स्थापनाको छैटौँ वार्षिकोत्सव मनाएको छ ।
देश सङ्घीय संरचनामा गएपछि पहिलो पटक प्रदेश सभाका लागि भएको निर्वाचन पश्चात् गठन भएको प्रदेश सभाको पहिलो बैठक बसेको दिन २०७४ माघ १८ गतेलाई प्रदेश सभा स्थापना दिन मानेर प्रदेश सभाको वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको हो ।
प्रदेश सभा सचिवालयले बिहीबार प्रदेश सभा भवन परिसरमा आयोजना गरेको प्रदेश सभा स्थापनाको छैटौँ वार्षिकोत्सव कार्यक्रममा वक्ताहरुले सङ्घीयताबाटै समृद्धि सम्भव भएको बताउँदै यसको संस्थागत विकास आवश्यक भएको जोड दिनुभयो ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले वातावरण संरक्षण र जनजीवनको सुरक्षा जस्ता विषयमा प्रदेश सरकार, प्रदेशसभा र हामी सबै उत्तरदायी हुनुपर्ने बताउनुभयो ।
उहाँले आगामी दिनमा प्रदेशव्यापी उद्योग व्यवसायको स्थापना र तिनको प्रबर्धन, विकास र उत्थान गर्नसक्ने नीति तथा कार्यक्रम तर्जुमा गर्नु आवश्यक भएको बताउँदै वन तथा वातावरण क्षेत्रको समुचित संरक्षण र संवर्धन गरी आय आर्जनमुखी वन तथा स्वच्छ वातावरण निर्माण गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हाम्रो विकास सम्बन्धी स्पष्ट नीतिको अभावमा विकास हुन नसकेको बताउँदै प्रदेश सरकारले पूर्वाधार विकाससम्बन्धी नीति बनाउन लागेको बताउनुभयो ।
उहाँले नयाँ क्षेत्रमा जोखिम मोल्न कसैले पनि नचाहदा समस्या आउने गरेको भन्दै यो व्यवस्थाको विरुद्धमा कोही पनि नरहेको दावी गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभामा प्रदेश सभामुख भुवनकुमार पाठकले यस प्रदेशका जनताको अपेक्षा ठाउँ अनुसार फरक र बढी रहेकोले अन्य प्रदेशले भन्दा उदाहरणीय र नमुना कार्य गर्नुपर्नेमा जोड दिँदै सभामुख पाठकले नागरिकका सबै किसिमका समस्याहरुको संवोधन गर्ने दायित्व हाम्रो भएको बताउनुभयो ।
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयताबाट मात्र समृद्धि सम्भव भएकोले प्रदेश संरचनालाई बलियो बनाउनुपर्ने बताउनुभयो ।
बागमती प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री बहादुरसिंह लामाले नागरिकका समस्या समाधानमा सबै पक्ष सकारात्मक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
बागमती प्रदेश नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार सञ्चालनको कार्यशैली र सरकारले प्रतिपक्षमाथि गर्ने व्यवहारप्रति प्रश्न उठाउँदै लोकतान्त्रिक विधि अनुसार सरकार चल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभाका उपसभामुख अप्सरा चापागाइँले प्रदेश सभाले गत एक वर्ष गरेको कामहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा प्रदेश सभाको बैठकमा सबैभन्दा बढी उपस्थित हुने प्रदेश सभाका सदस्यहरु र प्रदेश सभाका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा प्रदेश सभाद्वारा प्रकाशित प्रदेश सभा दर्पण विमोचन गरिएको थियो ।