पोखरा, भदौ १४ गते।
‘थ्री भर्सेस थ्री’ वर्ल्ड कपमा सहभागी हुने नेपालको छनोट गर्न पोखरामा गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता हुने भएको छ ।
पोखरामा शनिबार र आइतबार ‘थ्री भर्सेस थ्री’ आइ.एस.एफ.ए वर्ल्ड कपको छनोट खेल हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
पोखरामा हुने यो प्रतियोगिताका उत्कृष्ट चार टिमले काठमाडौँमा हुने राष्ट्रिय छनोट खेल्न पाउने पोखरा स्पोर्टस् इभेन्टका सीइओ मनिष वस्थाले बताउनुभयो । प्रतियोगितामा २८ वटा भन्दा बढी टिम सहभागी हुने अनुमान गरिएको उहाँले जनाउनुभयो । उत्कृष्ट ४ टिमले राष्ट्रिय छनोट खेल्ने अवसर र त्यसमध्येका २ टिमले नगद पुरस्कार पाउने भएका छन् ।
विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउने इभेन्ट म्यानेजर राजेश पोखरेलले जनाउनुभयो । सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ५/५ हजार रुपैयाँ पुरस्कार पाउने उहाँले बताउनुभयो ।
पोखराबाट छनोट हुने टिमको काठमाडौँमा हुने बस्ने–खाने खर्च पोखरा स्पोर्टस् इभेन्टले व्यहोर्ने भएको छ । काठमाडौँ, पोखरा, बुटवल, नेपालगञ्ज लगायत सहरबाट राष्ट्रिय छनोट खेल्ने टिममध्ये तीन वटा टिम अन्तिम छनोटमा पुग्ने छन् । त्यसमध्ये सर्वोत्कृष्ट एउटा टिमले आगामी नोभेम्बर १ र २ मा लेटभियामा हुने विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने छ ।
पहिलो पटक विश्वकप हुन लागेकाले निजी कम्पनीले चासो दिएको तर भविष्यमा राज्यले नै सक्रियता देखाउँदा राम्रो हुने पोखरा स्पोर्टस् इभेन्टका सीइओ मनिष वस्थाले बताउनुभयो । निजी क्षेत्रले विश्व कपमा प्रतिनिधित्व गर्ने टिम तयार गर्न लागे पनि अखिल नेपाल फुटबल सङ्घसँग सहकार्य गरेको उहाँले जनाउनुभयो ।
यो दुवै टिममा ३/३ जना भएर खेल्ने थ्री ए साइड फुटबल प्रतियोगिता हो । स्ट्रीट नाम भएपनि यो सडकमा खेलिने खेल भने होइन । सानो र साँघुरो ठाउँमा खेल्न सकिने मान्यता अनुसार यसलाई स्ट्रीट फुटबल भनिएको हो । यो खेलमा एउटा टिममा ४ जना खेलाडी हुन्छन् । एक पटकमा ३ जना मैदानमा खेल्छन् भने १ जना वैकल्पिक खेलाडी राखिन्छ ।