हेटौँडा, पुस २० गते ।
बागमती प्रदेश सरकारले प्रदेश सचिव र प्रशिक्षण केन्द्रको प्रमुखमा पदस्थापना गर्ने निर्णय गरेको छ ।
बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको सचिव र वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरीको निर्देशकमा पदस्थापना गर्ने निर्णय गरेको हो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट सङ्घीय सरकारले पठाएको निजामति सेवाको राजपत्राङ्कित प्रथम श्रेणी तथा सो सरहका अधिकृतहरुलाई प्रदेशका मन्त्रालयको सचिवमा जिम्मेवारी तोक्ने र पदस्थापना गर्न स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका लामिछानेले सङ्घीय सरकारले पठाएको राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत वीरेन्द्र देव भारतीलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको प्रदेश सचिवमा र प्रदेशले ११ औँ तहमा बढुवा गरेको अधिकृत कर्मचारी निरन्जन श्रेष्ठलाई जिम्मेवारी तोक्ने र पदस्थापना गर्ने निर्णय बैठकले गरेको बताउनुभयो ।
साथै मन्त्री परिषद् बैठकले स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति एवं नवीकरण स्तरोन्नतिसम्बन्धी मापदण्ड २०८१ स्वीकृति गर्ने निर्णय गरेको छ ।
मन्त्री लामिछानेले विपत्पछिको पुनर्निर्माण अन्तर्गत प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई मन्त्रालयको बजेट र अर्थविधि शीर्षकबाट पुनर्निर्माणका लागि बजेट खर्च गर्न अख्तियारी दिने निर्णय गरेको बताउनुभयो ।