योजना बैङ्क कार्यान्वयनमा ल्याउने तयारीमा

लोकप्रिय

हेटौँडा, फागुन २६ गते ।
प्रदेश र सङ्घीय सरकारले स्थानीय तहमा पठाउने योजना पहुँचका आधारमा नभएर आवश्यकताका आधारमा छनोट गर्न जोड दिइएको छ ।
प्रदेश र सङ्घीय सरकारका योजनाहरुको अनुगमन र नियमन नहुँदा गुणस्तरहीन काम भएको राज्यको लगानी मात्र खेर गएको भन्दै स्थानीयको आवश्यकताका आधारमा योजना छनोटमा जोड दिइएको हो ।
मकवानपुरको बकैया गाउँपालिका कार्यालयको आयोजनामा शनिबार बागमती प्रदेशका प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गङ्गादत्त नेपालको उपस्थितिमा हात्तीसुँढेमा योजना तर्जुमा र स्थानीय आवश्यकताका बारेमा भएको छलफलमा सहभागी स्थानीय तहमा जनप्रतिनिधि एवं कर्मचारीहरुले पूर्वाधारका योजनासँगै सामाजिक विकासका कार्यक्रम आवश्यकभएको बताएका थिए ।
जनप्रतिनिधिहरुले पालिकाको सीमित स्रोत र साधनका कारण समस्याभएको भन्दै मा शिक्षक अभाव, खानेपानी, सिँचाई, स्वास्थ्यलगायतका समस्या सामना गर्नु परिरहेको सुनाएका ।
छलफल कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नेपालले प्रदेश सरकारले योजना बैङ्क ल्याउने तयारी गरिरहेको बताउनुभयो ।
योजना बैङ्क कार्यान्वयनको अन्तिम तयारीमा रहेको सुनाउँदै उहाँले भन्नुभयो, योजना बैङ्क कार्यान्वयनमा आएपछि हचुवाका भरमा र पहुँचका आधारमा योजना हाल्ने प्रवृत्तिको अन्त्य हुन्छ ।
उहाँले जथाभावी रुपमा सडक निर्माण गर्दा गत असोजमा बाढीपहिरोको प्रकोपको सामना गर्नु परेको चर्चा गर्दै प्रदेश सरकारले अहिले राजस्वको दायरा बढाउन काम गरिरहेको बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले पालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिहेको र सोही अवधारणामा उद्योगग्राम सञ्चालनमा ल्याइएको बताउनुभयो ।
प्रदेश र सङ्घका सिँचाइ , खानेपानी , पूर्वाधार र कृषि मन्त्रालयबिच योजना बनाउँदा समन्वय आवश्यक रहेको सुझाउँदै अभिभावकविहीन बालबालिकाका लागि छात्रावास आवश्यभएको बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले स्थानीय आवश्यकताका आधारमा भन्दा पहुँचका आधारमा योजना पठाउँदा कार्यान्वयनमा समस्या आएको भन्दै पूर्वाधार निर्माणसँगै अब सामाजिक विकासलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभयो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले विस्तृत अध्ययन बिनानै प्रदेशले खानेपानी योजनामा लगानी गर्दा पछिल्लो समय समस्या आएको बताउनुभयो ।
बकैया गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष गोपाल न्यासुरले
गोठदमार हुँदै कान्तिपथ जोड्ने सडकका लागि ठेक्का लागेपनि काम सुरु नभएको भन्दै गाउँपालिकाले कृषिलाई प्राथमिकता दिएर रोजगारी सिर्जनातर्फ लागेको सुनाउनुभयो ।
वडा नं. २ का वडाध्यक्ष विश्वराज स्याङ्तानले पालिका आउन जान अझै अर्को जिल्ला भएर आउनुपर्ने अवस्था रहेको भन्दै दुर्गमका बस्तीमा छात्रावास निर्माणमा जोड दिनुभयो ।
वडा नं. ५ का वडाध्यक्ष लक्ष्मी जिम्बाले सडक सञ्जालको समस्यासँगै विद्यालयमा पूर्वाधार अभाव रहेको सुनाउँदै योजना पहुँचका आधारमा छनोट गर्ने प्रवृत्ति अन्त्य आवश्यक रहेको बताउनुभयो ।
यस्तै वडा नं. ३ का वडाध्यक्ष भुमल सिं घलान, वडा नं. ९ का वडाध्यक्ष टङ्कध्वज लोप्चन र वडा नं. ४ का कार्यवाहक वडाध्यक्ष विजयकुमार भ्लोनले सिमात बकैया खोला बस्ती बचाउ, खानेपानी, पुल, सिँचाईलगायतका समस्या समाधान गर्न योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
साथै शिक्षा शाखाका प्रमुख आइतराम तामाङ, आन्तरिक लेखा परीक्षक बलराम घिमिरे, सहायक महिला विकास निरक्षक होमकुमार सञ्जेललगायतले विषयगत शिक्षकको दरबन्दी, आवासीय विद्यालय, अभिभावक सचेतता कार्यक्रम, सेफ हाउसलगायतको समस्याका बारेमा बोल्नुभएको थियो ।

ताजा समाचार

Related Articles