खासकुरा संवाददाता
हेटौँडा, जेठ ६ गते ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १६ स्थित गैरीगाउँमा जमिन भासिएर बेपत्ताभएको बोलेरो गाडी खोजी कार्य थालिएको छ ।

हेटौँडा १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाको सक्रियतामा क्रेन र स्काभेटरको सहयोगमा मंगलबारबाट गाडी खोज्न थालिएको हो । उक्त गाडीको केही पार्टपुर्जा फेला परेको छ ।

गत वैशाख १९ गते माछा बोक्ने ना ४ च ४८३३ नम्बरको बलेरो गाडी जमिन भासिएर बेपत्ता भएको थियो ।
गाडी बेपत्ता भएपछि हेटौँडा उपमहानगरपालिकाको समन्वयमा गत वैशाख २३ गते भूगर्भ शास्त्रीलाई झिकाएर अध्ययन गरेको थियो ।

खानी तथा भूगर्भ विभागका विज्ञहरुको टोलीले अध्ययन गर्दा बोरिङका कारण जमिन भासिएर गाडी बेपत्ताभएको निष्कर्ष आएको थियो । अध्ययन गर्न आएको टोलीसमेत जोखिमपूर्ण क्षेत्र भन्दै फर्किएको थियो ।

माटो परीक्षण र भूगर्भ शास्त्रीको प्रतिवेदन अनुसार मङ्गलबार सतर्कता अपनाई गाडी भासिएको स्थान गाडी खोज्ने कार्य गरिएको वडाध्यक्ष कोइरालाले जानकारी दिनुभयो । टोलीले अनुसन्धान गरी पुनः माटो परीक्षणको लागि लिएर गएको वडाध्यक्ष कोइरालाले भन्नुभयो, सतर्कता अपनाई सवारी साधन उत्खनन् गरी खोजी गर्न सकिने सुझाव दिए अनुसार खोजी सुरु गरिएको हो ।

हराएको बोलेरो गाडीको खोज तलास कार्य सुरु भएकोमा गाडीको केही पार्टपुर्जा समेत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार गाडी खोजी जारी रहेको र बुधबार पनि चल्नेभएको छ ।




