हेटौँडा, जेठ ९ गते ।
मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा सुरक्षित स्थानागमन प्रवद्र्धनलाई प्रभावकारी बनाउन नीति निर्माण र कार्यान्वयन केन्द्रित नीति पैरवी कार्यशाला मकवानपुरको चित्लाङमा सम्पन्न भएको छ ।
कार्यशालामा सुरक्षित आप्रावासनसम्बन्धी चार बुँदे चित्लाङ घोषणापत्र जारी गर्दै कार्यशाला बुधबार सम्पन्नभएको हो ।

’राक्सिराङ्ग गाउँपालिका स्तरीय सुरक्षित आप्रवासन नीति तर्जुमा गरी सुरक्षित आप्रवासन मैत्री स्थानीय शासनमा समय सापेक्ष सुधार गर्ने र मानव वेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय समिति (गठन तथा परिचालन) कार्यविधि २०७७ को अद्यावधिक सहित समुदाय स्तरीय सुरक्षित आप्रवासन सचेतना समूहको परिचालन सम्बन्धी विधि र प्रकृया समावेश गर्ने घोषणापत्रमा उल्लेख छ ।

यस्तै सुरक्षित आप्रवासन मैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनका लागि कानुनी रुपमा बाझिएका, दोहोरोपना भएका, नीति नै निर्माण नभएका र समन्वय नभएका ऐन कानुनहरुमा क्षेत्राधिकारको आधारमा जिल्ला, प्रदेश र संघमा नीति पैरवी गर्ने घोषणापत्रमार्फत प्रतिबद्धता जनाइएको छ ।

सुरक्षित आप्रवासन तथा मानव बेचविखन विरुद्धको कार्यक्रमहरुलाई आवश्यकता अनुसार थप गर्दै पालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेटको निरन्तरता सहित प्रभावकारिता बढाउने घोषणापत्रमा रहेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले खासकुरालाई जानकारी दिनुभयो ।

कार्यक्रममा अध्यक्ष मल्लले वैदेशिक रोजगारमा जानेहरूबारे पालिकामा तथ्यांक नहुँदा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले दक्ष श्रम आप्रवासनको आवश्यकता औंल्याउँदै फर्किएका श्रमिकहरूलाई पुनः समायोजनका लागि गाउँपालिकाले सहजीकरण गर्दै आएको बताउनुभयो ।

कार्यशालामा प्राध्यापक डा. शंकरप्रसाद उपाध्यायले सहजीकरण गर्नुभएको थियो । नारी सीप सृजना केन्द्र, नेपालको आयोजना र एडब्लुओ इन्टरनेसनलको सहयोगमा सञ्चालित सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजना अन्तर्गत आयोजना गरिएको सो कार्यशालामा गाउँपालिका अध्यक्ष मल्ल, उपाध्यक्ष बनस्तम थिङ, पालिकाका सबै वडाका वडाध्यक्ष, शाखा प्रमुखहरुलगायतको सहभागिता रहेको थियो।

सन् २०२३ देखि राक्सिराङ्ग गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ८ र ९ मा सञ्चालित यस परियोजनामार्फत सुरक्षित आप्रवासन, मानव बेचबिखन न्यूनीकरण तथा जीवनोपार्जनको सशक्तीकरणका लागि कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ ।




