बागमती प्रदेशको नीति तथा कार्यक्रमको तयारी पूरा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १३ गते ।
बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमको छलफल र तयारी पूराभएको छ ।
आगामी आवको नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयहरुको बारेमा प्रदेशका विषयगत मन्त्रालयहरु, प्रदेश नीति तथा योजना आयोगलगायतका सरोकारवाला प्रदेशका निकाय र कार्यालयसँग छलफल सकिएर अन्तिम रुप दिइएको छ ।

प्रदेशको आगामी आवको नीति तथा कार्यक्रम यही जेठ १४ गते दिउँसो १ बजे बागमती प्रदेशका प्रदेश प्रमुखबाट संवोधन हुने गरी तय गरी प्रदेशका प्रदेश सभामुख, उपसभामुखसहितको टोलीले प्रदेश प्रमुखलाई आमन्त्रणसमेत गरी सकेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भौतिक विकाससँगै सामाजिक क्षेत्रलाई पनि प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम आउने बताउनुभएको छ ।

उहाँले योजना बैंक कार्यान्वयन गर्ने दोहो¥याउँदै टुक्रे योजनाहरुलाई अब निरुत्साहित गर्ने गरी नीति तथा कार्यक्रम ल्याइने बताउनुभयो ।

उहाँले अहिले प्रदेशमा अहिले १७ हजारभन्दा बढी योजना हुँदा कार्यान्वयनमा समस्या भएकोले त्यसलाई घटाउने र प्रादेशिक योजनाहरुलाई प्राथमिकता दिने गरी नीति बनाइने बताउनुभयो । उहाँले घोषणा र कार्यक्रमका लागि कार्यक्रम मात्र नभएर कार्यान्वयनयोग्य नीति तथा कार्यक्रम बनाइने बताउनुभयो ।

उता प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले नीति तथा कार्यक्रमको तयारी पूराभएको बताउनुभयो ।

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले सोमबारसम्ममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएर मन्त्रीपरिषद् बैठकबाट स्वीकृत गरिएको जानकारी दिनुभयो ।

उहाँले नीति तथा कार्यक्रम बनाउँदा विभिन्न मन्त्रालयका प्राथमिकताहरू, बजेटको उपलब्धता, नागरिकका अपेक्षा र जनतालाई लक्षित सेवा तथा विकास योजनाहरू नीति तथा कार्यक्रममा समावेश गर्ने बारेमा विस्तृत रुपमा छलफल गरिएको बताउनुभयो । प्रदेश सरकारले आगामी आवमा नयाँ कार्यक्रमहरु, कतिपय कार्यक्रमको निरन्तरतासँगै अधुरा कार्यक्रम सम्पन्न गर्ने गरी नीति तथा कार्यक्रम बनाएको मुख्यमन्त्री लामाको भनाई छ ।

ताजा समाचार

Related Articles