हेटौँडा, जेठ १४ गते ।
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले आवश्यकता र औचित्यका आधारमा प्रदेशको पहिचान स्थापित हुनेगरी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाएको छ । 

कांग्रेस बागमती प्रदेश कार्यसमिति र कांग्रेस बागमती प्रदेश संसदीय दलको मंगलबार हेटौँडामा भएको संयुक्त बैठकले यस्तो सुझाएको हो ।

बैठकले बागमति प्रदेशका पछाडि परेका भुगोल र सिमान्तकृत, दलित, अल्पसंख्यक, अपाङ्गलगायतलाई निशुल्क शिक्षा, किसान, महिला र युवा रोजगारलाई समेटेर नीति तथा कार्यक्रम र बजेट ल्याउन मुख्यमन्त्री तथा मन्त्रीहरुलाई निर्देशन दिएको कांग्रेस बागमती प्रदेशका मुख्यसचिव राजु नेपालले जानकारी दिनुभयो ।

कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभापतित्वमा भएको संयुक्त बैठकमा प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, बागमती प्रदेशमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री बहादुरसिं लामासहित मन्त्रीहरु, १३ जिल्लाका जिल्ला सभापतिहरु, कांग्रेसका बागमती प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको थियोे ।




