काठमाडौं, जेठ १८ गते ।
२५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन सञ्चालक/प्रमुख कार्यकारी अधिकृत बाँके नेपालगंज उपमहानगरपालिका-२० बस्ने सल्यान घर भएका ६५ वर्षीय राजेन्द्र वीर रायलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत एवम् पटक पटक सञ्चालक समिति अध्यक्ष पदमा रहि उक्त बैंकमा संकलन भएको बचत कर्ताहरूको २५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका राजेन्द्रलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको हो ।

उनी उपर बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।




