हेटौँडा, असार ८ गते । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई सरकारले फेरि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौँडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो ।
बन्द उद्योग सञ्चालनका लागि सरकारले चासो बढाएसँगै अनुगन र सरसफाई थालिएको छ ।
हेटौँडा कपडा उद्योगको पुनः सञ्चालनका लागि भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले यसअघि उद्योगको स्थलगत अनुगमन गर्नुभएको थियो ।
त्यस्तै उद्योगको हेटौँडा उपमहानगर नगरप्रमुख मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पनि स्थलगत निरीक्षणसँगै जानकारी लिनुभएको थियो ।
मन्त्री यादवले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा सरकारले हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको बताउनुभएको थियो । कपडा उद्योग बन्द भएसँगै उद्योग परिसरमा सशस्त्र प्रहरी सुरक्षा बल १४ नम्बर गण बस्दै आएको छ ।




