खासकुरा संवाददाता
हेटौँडा, जेठ १९ गते ।
बागमती प्रदेश सभामा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममाथि छलफल सुरुभएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै विपक्षी दलका प्रदेश सभा सदस्य विरोध र सत्ता पक्ष वचाउ गरेका थिए ।
प्रदेश सभाका सदस्यहरुले नीति तथा कार्यक्रम प्रति असन्तुष्टि जनाएका थिए । उता सत्ता पक्षका प्रदेश सभाका सदस्यहरु प्रदेश सरकारको नीति तथा कार्यक्रमले समृद्धिका कुरा समेटेको भन्दै प्रतिरक्षा गर्नुभएको थियो ।

प्रमुख विपक्षी दलका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति उत्साह छैन भन्दै यसमा आफ्नो समर्थन नरहेको बताउनुभयो ।

प्रदेश सभाका सदस्य रामकृष्ण चित्रकारले नीति तथा कार्यक्रमको समर्थन गर्दै सरकारले व्यवहारिक रुपमा कार्यान्वयन गर्न सक्ने नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो ।

नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै प्रदेश सभा सदस्यहरु तारानारायण श्रेष्ठ, जयराम थापा, इन्द्रप्रसाद गोतामे, गंगानारायण श्रेष्ठ, उर्मिला नेपाल, युवराज दुलाल, उर्मिला सुनुवार, शान्ता ढकाल, उद्धव थापा, भारती पाठक, राजेन्द्र प्रजापति, कृष्णप्रसाद शर्मा खनाल, मायादेवी शर्मा, भरतबहादुर केसी, सुना परियारलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।




