खासकुरा संवाददाता
हेटौँडा, जेठ २१ गते ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम बहुमतले पारितभएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आगामी आवको नीति तथा कार्यक्रम बागमती प्रदेश सभाबाट पारित गर्न प्रदेश सभाको बुधबार बसेको बैठकमा रराख्नुभएको प्रस्ताव प्रदेश सभा बैठकले बहुमतले स्वीकृत गरेको हो ।

यसअघि मुख्यमन्त्री लामाले नीति तथा कार्यक्रममाथि वृहत रुपमा छलफलभएको भन्दै नीति तथा कार्यक्रमका आधारमा आगामी आवको बजेट आउने बताउनुभएको थियो ।

नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै प्रदेश सभाको सदस्यहरुले जनता केन्द्रित योजना आउनुपर्नेमा जोड दिनुभएको थियो । प्रदेश सभाका सदस्यहरु आशा लामा, मीना पराजुली पोखरेल, एकालाल श्रेष्ठ, उर्मिलाकुमारी तामाङ, कुमारी तामाङ, शकुन्तला श्रेष्ठ, रामकुमार पहाडी, कुमारी मोक्तान, ठुला थामी, बालकुमारी विश्वकर्मा, रुकु चौलागाई, भुवनकेशरी श्रेष्ठ याङकिला शेर्पा, इश्वर सापकोटा, मसिना खड्का भण्डारी, रामप्रसाद ढुङ्गाना, मातृका भट्टराई, यमुनादेवी श्रेष्ठलगायतले टुक्रे योजनाभन्दा दीर्घकालीन योजना आउनुपर्नेमा बताउनुभएको थियो ।

प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रदेश सभामा यही जेठ १४ गते बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संवोधन गर्नुभएको थियो ।
प्रदेश सभाको बैठक यही जेठ ३० गते दिउँसो १ः०० बजे बस्ने गरी स्थगित गरिएको छ ।




