विधि र प्रक्रिया नबन्दा प्रदेशमा योजना माग्न आउनेको भिड, हेटौँडाका होटलहरु भरिभराउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ २१ गते । बागमती प्रदेश सरकारले विधि प्रक्रिया नबनाउँदा प्रदेशमा योजना माग गर्नेको भिड लागेको छ ।
बागती प्रदेश सरकारको आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा सरकारले विधि र प्रक्रिया नबनाउँदा योजना माग गर्नेको भिड मन्त्रालयदेखि मन्त्री आवासमा भिड लागेको भन्दै प्रदेश सभाका सदस्यहरुले ध्यानाकर्षण गराएका हुन् ।

मंगलबारबाट सुरुभएको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभा सदस्यहरुले विभिन्न तह पारेर योजना बनाउने विधिकै अभावमा अहिले व्यक्ति–व्यक्ति योजना माग गर्दै मन्त्रालय पुग्ने गरेको भन्दै यसले आगामी आवको बजेट र कार्यक्रम पहुँचका आधारमा भन्दा आवश्यकताको आधारमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

नीति तथा कार्यक्रममाथिको बुधबार भएको छलफलमा सहभागी हुँदै बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले विधि नबनाउँदा योजना माग गर्नेको भिड लागेको र यो अवस्थामा आगामी योजना कस्तो बन्ने हो भन्दै प्रश्न गर्नुभयो ।

प्रदेश सभा सदस्य डम्बर तामाङले बजेट बनाउने समयमा मन्त्रीहरु मन्त्रालयमा नै नबसेकोले कसलाई कुरा सुनाउने भन्दै भूगोलका आधारमा बजेट आउनुपर्नेमा जोड दिनुभयो । यस्तै प्रदेश सभा सदस्य प्रभातकुमार तामाङले पुँजीको विस्तार गर्ने गरी बजेट आउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सभा सदस्य रामकुमार पहाडीले योजना माग गर्न आउनेले हेटौँडाका होटर भरिएको भन्दै यो अवस्थाको अन्त्य हुने र विधि स्थापना हुनुपर्ने बताउनुभयो । प्रदेश सभा सदस्य कुमारी मोक्तानले नीति तथा कार्यक्रममा स्पष्टता नरहेको धारणा राख्नुभयो ।

प्रदेश सभा सदस्य ठुला थामीले विचौलियाहरुको योजनालाई प्राथमिकता दिँदा प्रदेश सभा सदस्यको योजना विगतमा संवोधन हुन नसकेको भन्दै अहिले योजना माग आउनेको हेटौँडामा भिड लागेको बताउनुभयो ।

प्रदेश राजधानी हेटौँडामा गत सातादेखि योजना माग गर्नेको थेगी नसक्नु भिड छ । मन्त्रालयमा योजनाको माग गर्नेको चाप बढेपछि मन्त्रालयले सूचना टाँस गरेर भेटघाट नै बन्द गरेका छन् ।

ताजा समाचार

Related Articles