खासकुरा संवाददाता
हेटौँडा, जेठ २५ गते ।
बागमती प्रदेश विश्वविद्यालय, हेटौँडाले आफ्नो प्रथम वार्षिक दिवस आगामी योजना र कार्यदिशाका बारेमा छलफल गर्दै आइतबार हेटौँडामा मनाएको छ ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वविद्यालयले व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिदै अगाडि बढ्ने बताउनुभयो ।
उहाँले प्रदेश गौरवको आयोजनाको रुपमा रहेको विश्वविद्यालयलाई आवश्यक बजेट व्यवस्था गर्ने भन्दै विश्वविद्यालयले अगाडि सारेका कार्यहरु सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, विश्वविद्यालयका आंगिक क्याम्पस बनाउने बारे छिट्टै निर्णय लिइने छ ।

प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले प्रदेश विश्वविद्यालयको आवश्यकता र औचित्यका बारेमा चर्चा गर्दै उच्च शिक्षा प्रदेश सरकारको एकल अधिकारको क्षेत्र भएको बताउनुभयो ।

बागमती प्रदेशका प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ र प्रदेश नीति तथा योजना आयोगका सदस्य गुणराज मुक्तानले विश्वविद्यालय र उच्च शिक्षाका विविध पक्षमा विचार राख्दै बागमती विश्वविद्यालयसँग सहकार्य र सहयोग गर्दै अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाले विश्वविद्यालयलाई आवश्यक सहयोग गर्न र जग्गा उपलव्ध गर्न नगरपालिका प्रतिबद्घ रहेको बताउनुभयो ।

प्रदेशका प्रमुख सचिव भुपाल बरालले विश्वविद्यालयले अनुसन्धानमा जोड दिने छ र विद्यार्थी बाहिर जानुपर्ने अवस्थामा कम गने गरी कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विश्वविद्यालयले सम्पादन गरेका कार्यहरु र चुनौतीहरु राख्दै प्रदेश सरकारले समयमा निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बागमती प्रदेश विश्वविद्यालयका डिन डा. गंगाराम विश्वकर्माले स्वागत गर्नुभएको कार्यक्रममा विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले विश्वविद्यालयको वार्षिक कार्य प्रगति प्रस्तुत गर्नुभएको थियो ।




