नारायणघाट–पालुङ–काठमाडौँ द्रुतमार्ग किन ?

लोकप्रिय

मुलुकको संघीय राजधानी काठमाडौँसँग सम्पूर्ण देश जोड्ने पृथ्वी राजमार्ग र मुग्लिन– नारायणघाट सडक खण्डमा पटक–पटक समस्या आईरहेको छ । यसले दैनिक यात्रा गर्ने देशभरका आमनागरिक र नेपाल घुम्न आउने विदेशी पर्यटकले कठिनाई भोग्नुपरेको छ ।
यात्रामा अतिरिक्त समय लागेको छ, यात्रु हैरानी खेप्न बाध्य छन् । बाढीपहिरोका कारण लाखौं यात्रु अनिश्चित कालसम्म भोकभोकै सडकमै अलपत्र हुनुपरेको छ । बालबच्चा र जेष्ठ नागरिकको यात्रा झनै कठिन छ । नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भईरहँदा बिरामीले समेत अनेक उल्झन भोग्नपरेको अवस्था छ ।
समग्रमा संघीय राजधानी जोड्ने सडकमा उत्पन्न समस्याले देशलाई नै लज्जित बनाएको छ । सडक दुर्घटनामा जीवन गुमाउने नागरिक र अंगभंग भई दुःखद् जीवनयापन गर्न बाध्य नागरिकको संख्या झन् डरलाग्दो र भावविह्वल छ । यात्रा सुरक्षित हुँदैन कि भन्ने यात्रु स्वयम् र परिवारजनले चिन्ता गर्नुपर्ने अवस्था छ ।
मानवीय क्षति मात्र नभई यसले अर्थतन्त्रमा परेको प्रभाव अर्को महत्वपूर्ण विषय हो । समय नै धन हो भन्ने सिद्धान्त परिपालन गर्ने हो भने विकल्प छन् । आधुनिक प्रविधि प्रयोग गरेर नारायणघाट–काठमाडौँ द्रुतमार्ग निर्माण गरेर एक घण्टामा यात्रा गर्न सकिने अध्ययनले देखाएको छ । यसलाई कालिगण्डकी किनारहुँदै पाल्पाको रामपुरसम्म र त्यहाँबाट बुटवल र पोखरातर्फ पनि सुरुङमार्ग निर्माण गरेर लुम्बिनी–नारायणघाट– काठमाडौँ दुई घण्टा, लुम्बिनी–पोखरा एक घण्टा र पोखरा–नारायणघाट–काठमाडौंँ दुई घण्टामा यात्रा गर्न सकिन्छ ।
रणनीतिक महत्वको यो परियोजना बनाउँदा हालको सडकमा प्रयोग भईरहेको ईन्धन, सवारीसाधन र मरमत लगायतको लागतमा ब्यापक कमी गर्न सकिन्छ । समयको बचत हुन्छ । पर्यटनमा वृद्धि आउँछ । उद्योग–व्यवसायको लागतमा कमी आउँछ । यस्तै–यस्तै प्रत्यक्ष–अप्रत्यक्ष लाभवाट लगानीको प्रतिफल प्राप्त हुने देखेर आ.बव २०७९–८० को बजेटमा यो परियोजना बनाउने घोषणा भएको थियो । यो परियोजनाको सम्भाव्यता अध्ययन पनि सकिएको छ, जस अनुसार चन्द्रागिरि–चित्लाङ–पालुङ– चितवन द्रुतमार्गको कुल लम्बाई ९६.५० किमी ( सुरुङको कुल लम्बाई २९.८०किमी, पुलको लम्बाई ९.५३० किमी), कलभर्टको संख्या ५६ , लेन चार, प्रति लेन चौडाइ ३.५० मि, पेभ सोल्डरको चौडाई २.५० मि, डिजाइन गति ८०–१२० किमी प्रति घण्टा, यात्रा गर्न लाग्ने समय ५७ मिनेट रहेको छ । र यो टोल सिस्टमबाट सञ्चालन हुने भएकाले सबै लाभान्वित हुने छन् । यो परियोजना छिटोभन्दा छिटो सम्पन्न गर्न सकिने विधि अवलम्बन गरेर निर्माण गर्न सरकारसहित सरोकारवालापक्षको ध्यानाकर्षण गराउँदछु ।
(नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माको फेसबुक पेजबाट साभार)

ताजा समाचार

Related Articles