हेटौँडा, जेठ ३० गते ।
बागमती प्रदेशका प्रदेश सभामा बागमती प्रदेश आर्थिक सर्वेक्षण २०८१/०८२ प्रदेश सभामा प्रस्तुत गरिएको छ ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले शुक्रबार बागमती प्रदेश आर्थिक सर्वेक्षण २०८१/०८२ प्रदेश सभामा प्रस्तुत गर्दै बागमती प्रदेशको चालु आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धि दर पाँच प्रतिशतभन्दा बढीले वृद्धि हुने अनुमान गरिएको बताउनुभयो ।

नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएकोमा बागमती प्रदेशको आर्थिक वृद्धि दर ५.१८ प्रतिशत रहने अनुमान गरिएको हो ।
उहाँले गत फागुन महिनासम्ममा कूल आय आन्तरिक राजस्व बाँडफाड र नगद मौज्दात गरी ४४ अर्ब ५६ करोड ५३ लाख अर्थात् वार्षिक अनुमानको ६९.०५ प्रतिशत प्राप्तभएको बताउनुभयो ।

यस अवधिमा बागमती प्रदेशको कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ११.८ प्रतिशत, उद्योग ११.१३ र सेवा क्षेत्रको ७७.०७ प्रतिशत रहेको उहाँको भनाई छ ।

यस्तै बागमती प्रदेशको प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन दुई हजार ६०१ अमेरिकी डलर रहने अनुमान गरेको उहाँले बताउनुभयो ।
चालु आवको गत फागुन मसान्तसम्ममा प्रदेश सरकारको कूल खर्च १६ अर्ब ५३ करोड ४३ लाख ९२ हजार अर्थात् २५.६२ प्रतिशत खर्च भएको छ ।
उहाँले यो अवधिमा प्रदेशको वित्तीय साक्षरता ६४.५ प्रतिशत पुगेको बताउनुभयो । आर्थिक वर्ष २०८१/८२ को फागुनसम्ममा बागमती प्रदेश सरकारबाट स्थानीय तहलाई चार अर्ब ४७ करोड ८१ लाख रुपियाँ वित्तीय हस्तान्तरण भएको छ। https://drive.google.com/file/d/1mu0Dn66dlbvEdhKn03cY3qoDozjnj_GN/view




