हेटौँडा, जेठ ३० गते ।
बागमती प्रदेश सभाका सदस्यहरुले कृषकलाई तत्काल रासायनिक मलको व्यवस्था गर्न माग गरेका छन् ।
बागमती प्रदेश सभाको शुक्रबारको शून्य समयमा बोल्दै प्रदेश सभाको सदस्यहरुले खेतीपातीको समयमा रासायनिक मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रदेश सभा सदस्यहरु आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट नागरिकमा आशा जगाउने गरी ल्याउन मागसमेत गर्नुभयो ।

प्रदेश सभा सदस्य आशा लामाले सरकारले चालु खर्चमा ठुला हिस्सा खर्चने र सानो हिस्सा निर्माणमा खर्चदा जनतामा निराशा बढेको बताउनुभयो । उहाँले भिजिट भिसा प्रकरणमा गणतन्त्रवादीहरु मिलेको भन्दै बधाई दिनुभएको थियो । उहाँले भन्नुभयो सर्वप्रथम गणतन्त्रवादीहरुलाई बधाई छ, भिजिट भिसा प्रकरण मिलेछ ।

हिजोआज फलानो नेता, माननीय, मन्त्रीहरुको सिफारिशमा यति करोडको बजेट विनियोजन भएको छ भनेर अस्वााविक र अनुपयुक्त पोष्टले सामाजिक सञ्जाल रङ्गिएको छ, उहाँले भन्नुभयो यस्तो पोष्टहरुले जनतामा अत्यन्तै नकारात्मक असर परेको छ, केन्द्रको यस्तै रोग प्रदेशमा पनि नहोस् भन्न चाहन्छु ।

प्रदेश सभा सदस्य उर्मिला सुनुवारले प्रदेश गौरवको योजनाको रुपमा जिरी ताल राख्न माग राख्नुपर्ने बताउनुभयो ।
यस्तै प्रदेश सभा सदस्य कृष्णकुमार तामाङले २०७८ असार १ गते सिन्धुपाल्चोकको हेलम्बु, पाँचपोखरीलगायतका क्षेत्र क्षतविक्षत भएपछि सडक निर्माण गर्न बजेट विनियोजन भएपनि कार्यान्वयन नहुँदा स्थानीयले समस्यामा परेको बताउनुभयो ।

प्रदेश सभा सदस्य युवराज चौलागाई पत्रकारलाई धम्क्याउने र पक्राउ गर्ने कार्यभएको भन्दै विरोध गर्नुभयो ।
प्रदेश सभा सदस्य गोविन्द लम्सालले रासायनिक मल नपाएको र विपद पूर्वको तयारी गर्न भन्दै ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले गत वर्षको असोजमा आएको बाढीपहिरोमा मृत्युभएकाहरुको परिवारले राहत नपाएकोले राहतको व्यवस्था गर्न माग गर्नुभयो ।

यसैगरी प्रदेश सभा सदस्य रामकृष्ण चित्रकारले सम्पदा संरक्षणका लागि ऐन बनाउन आवश्यक भएको बताउनुभयो ।
प्रदेश सभा सदस्यहरु नुरज वज्राचार्य, मातृका भट्टराई, प्रभात तामाङ, भारतीकुमारी पाठक, यमुनादेवी श्रेष्ठ, रमेशकुमार महतलगायतले कृषि मल, कृषकलाई राहतलगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।




