हेटौँडा, जेठ ३१ गते । बागमती सभा अन्तर्गतका समितिहरुले वार्षिक प्रतिवेदन बागमती प्रदेश सभामा पेस गरिएको छ ।
प्रदेश सभा अन्तर्गत छ वटा समितिका सभापतिले शुक्रबार बसेको बागमती प्रदेश सभाको बैठकमा आ–आफ्नो समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
प्रदेश सभामामा सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, अर्थ तथा विकास समिति नुरज वज्राचार्य, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकाल, उद्योग, पर्यटन तथा वातावरण समिति आनन्दकुमार श्रेष्ठर विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले प्रदेश सभाको बैठकमा वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।
समितिहरुले चालु आर्थिक वर्ष २०८१/०८२ मा गरेका अध्ययन, अनुगमनलगायतका कार्यहरुसँगै सरकारलाई दिएको सुझाव, निर्देशन प्रतिवेदनमा समेटिएको छ । समितिहरुले सरकारका विकास आयोजनाहरुको अध्ययन, अनुगमनसँगै महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले औल्याएका बेरुजुलगायतका विषयहरुमा अध्ययन गरी सरकारलाई निर्देशन र सुझाव दिँदै आएको छ । सरकारलाई दिएका निर्देशन कार्यान्वयनको अवस्थाका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै प्रदेश चलचित्रसम्बन्ध व्यवस्था गर्न बनेको विधेयक २०८१ प्रदेश मामिला समितिमा दफावार छलफलका लागि पठाउन प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सभाको बैठकमा राख्नुभएको प्रस्ताव प्रदेश सभा बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले आइतबार प्रदेश सभाको बैठकमा पेस गर्नु हुनेभएको छ ।
प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आइतबार दिउँसो ३ बजे प्रदेश सरकारको आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेकोले ३० मिनेट अगावै बैठकमा औपचारिक पोशाकमा उपस्थित हुन प्रदेश सभा सदस्यहरुलाई अनुरोध गर्नुभएको छ ।




