काँग्रेसलाई एकताका साथ बढाउनुको कुनै विकल्प छैन

लोकप्रिय

जनकपुरधाम, जेठ ३० गते । नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले नेपाली काँग्रेसलाई एकताका साथ अगाडी बढाउनुको कुनै विकल्प नभएको बताउनु भएको छ । काँग्रेसका नेता निधिले पार्टीको मधेश प्रदेश स्तरीय कार्यकर्ता भेलाको आज जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनमा उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । उहाँले विशेष महाधिवेशन तथा नियमित महाधिवेशन पक्षधर मिलेर अगाडी बढ्न जरुरी रहेको बताउँदै १५ औँ महाधिवेशनलाई सफल र एकताको महाधिवेशन बनाउन क्रियाशील सदस्यतालाई विवादको विषय बनाउन नहुने बताउनु भयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका नेता निधिले नेपाली काँग्रेस कमजोर भएको खण्डमा यसको नकारात्मक असर अगामी स्थानीय तथा प्रदेश सभाको चुनावमा पर्ने भएका पार्टीका दुवै पक्षधरका बीचमा एकता गरेर अगाडी बढ्नुको कुनै विकल्प नभएको बताउनु भयो । प्रदेश स्तरीय कार्यकर्ता भेलाका संयोजक आनन्दप्रसाद ढुङ्गानाले अध्यक्षको आसनबाट बोल्दै नेपाली काँग्रेस कुनै पनि हालतमा नफुट्ने बताउँदै काँग्रेस फुटे लोकतन्त्र कमजोर बन्ने भएको बताउनु भयो ।

मधेश प्रदेशका आठ जिल्लाका नेता तथा कार्यकर्ताहरूको ठूलो सङ्ख्यामा सहभागिता रहेको थियो । भेलामा सहभागी भएका पर्सा तथा बारा जिल्लाका नेता तथा कार्यकर्ताहरूले गत प्रतिनिधि सभाको चुनावमा काँग्रेसको हालत अहिलेको अवस्थामा आउनुको प्रमुख दोषीको रुपमा विशेष महाधिवेशन पक्षधर र विशेष महाधिवेशनबाट निर्वाचित पार्टी सभापति गगन थापा भएको गुनासो गर्नु भएको थियो । यसै बीच प्रदेश स्तरीय भेलाबाट यस अघि नै सदस्यता नवीकरण गरिसकेकाहरूलाई पुनः सदस्यता नवीकरण गर्न जरुरी नभएको ठहर गरेको छ । यसका साथै पार्टीलाई अगामी १५ औँ नियमित महाधिवेशनमा एकताका साथ अगाडी बढाउने निर्णय पनि भएको भेलामा सहभागी भएका काँग्रेसका पुराना नेता महेश रोशनले जानकारी दिनु भएको छ । सदस्यता नवीकरणको बहानामा कुनै पनि पुराना सदस्य तथा नेता माथि कारबाही स्वीकार्य नहुने पनि भेलाले निर्णय गरेको छ ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button

ताजा समाचार

Related Articles