विपद् प्रतिकार्यमा एकद्वार नीतिमा जोड

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार ९ गते । विपद् व्यवस्थापनमा तीनै तहको सरकारले एकद्वार नीति अबलम्बन गर्नुपर्नेमा जोड दिइएको छ ।

मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमको तयारीको पूर्व सन्ध्यामा सोमबार बकैयामा आयोजित छलफलमा स्थानीय बासिन्दाले विपद पूर्व तयारी, विपद् प्रतिकार्य र विपद् पछिको पुनर्निर्माण र पुनर्स्थापनामा संघ, प्रदेश र स्थानीय सरकारले एकद्घार नीति अपनाउनुपर्ने माग गरेका हुन् ।

एकद्वार नीति नअपनाउँदा विपद् जोखिम बढेको र विपद् पछिका कार्यहरु प्रभावकारी नभएको स्थानीयको भनाई छ ।
बकैया गाउँपालिकामा आवासीय विद्यालयको आवश्यकता रहेको औँल्याउँदै रहेको भन्दै स्थानीय बासिन्दाले नीति तथा कार्यक्रममा सुझाव संकलन एवं अन्तरक्रिया कार्यक्रममा आवासीय विद्यालयको माग गरेका छन् ।

कार्यक्रममा पालिकाभित्र विद्यालय जाने उमेरका अभिभावकविहीन विद्यार्थीको संख्या बढ्दै गएकोले उनीहरुलाई लक्षित गरी आगामी आवको बजेट निर्माण गर्न सुझाएका थिए । यस्तै, विद्यालयको अध्ययन पश्चात् पलायन हुने क्रम बढेकोले रोक्न स्थानीय सरकारले चासो दिनुपर्ने स्थानीयको माग छ ।

छलफलको क्रममा तरकारी, फलफूल र मुख्य आम्दानीको दिगोपनाको लागि विशेष पहल गर्नुपर्ने, भौतिक पूर्वाधार क्षेत्रमा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा पुग्ने वा अर्काे जिल्लामा जोड्ने सडक व्यवस्थित बनाउन पालिकाले बजेट विनियोजन गर्नु पर्ने र नदी, खोलानाला नियन्त्रणको लागि गुरुयोजना निर्माण गर्नुपर्ने धारणा राखिएको थियो ।

यस्तै, धार्मिक पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्धन गरी आन्तरिक राजश्व वृद्धि, विगतका योजनालाई अध्ययन गरी आगामी आवमा आवश्यक योजना छनोट गर्नुपर्ने, सामाजिक संघसंस्थाहरुसँगको समन्वय र सहकार्यमा एकीकृत सामाजिक सुधारको कार्यक्रम समावेश हुनुपर्ने स्थानीयको माग रहेको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले गाउँपालिकाको मात्र स्रोतमा आवासीय विद्यालय स्थापना र सञ्चालन सम्भव नरहेको भन्दै प्रदेश र संघीय सरकारसँग समन्वय र सहकार्य गरिने बताउनुभयो ।

बकैया गाउँपालिकाको सहकार्य र अन्य सस्थाको सहयोगमा बकैया ५ अवस्थित गितावर आधारभूत विद्यालयमा आवासीय विद्यालय सञ्चालनमा ल्याएको बताउनुभयो । अध्यक्ष लामिछानेले प्रदेश सरकारले स्थानीय सरकारले जति पनि काम गर्न नसकेको जिकिर गर्दै स्थानीय सरकारले उत्पादनसँग नागरिकलाई जोड्ने गरी कार्यक्रम गर्दै आएको बताउनुभयो । विगतका दिनमा योजना धेरै राखेर बजेट निर्माण गर्ने तर कार्यन्वयन कमजोर भएको भन्दै उहाँले अति आवश्यक योजनालाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्नु पर्नेमा जोड छ । पालिका अध्यक्ष लामिछानेले पालिकाले उत्पादनको क्षेत्रमा लगानी वृद्धि गर्दै अघि बढ्ने भन्दै आवश्यकताको आधारमा हरेक वडामा बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

ताजा समाचार

Related Articles