हेटौँडा, असार १० गते । मकवानपुरगढी गाउपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७४ करोड पाँच लाख ८४ हजार रुपियाँको बजेट ल्याइएको छ । मंगलबार बसेको गाउँसभाको १२ औँ अधिवेसनमा पालिका उपाध्यक्ष मानकुमारी पाख्रिनले आगामी आवको लागि बजेट प्रस्तुत गर्नुभएको हो ।

उपाध्यक्ष पाख्रिनले मकवानपुरगढी गाउँपालिकाका कृषकहरुबाट उत्पादित स्थानीय एवं रैथानेवली कोदो, धानकोदो, जुनेलो, फापर, सिमी आदिको न्यूनतम समर्थन मूल्य निर्धारण गरी उत्पादनमा आधारित प्रोत्साहन अनदुान कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

उत्पादनमा लागत कम गर्न घाँस खेतीमा आधारित घाँस उत्पादन प्रवद्धन कार्यक्रम गर्न बाँझो तथा सिंचित जग्गामा घाँस खेति गर्न कृषकलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

साथै गाउँपालिकाले चालु खर्चतर्फ ४१ करोड ७० लाख ६६ हजार रुपियाँ र पुँजीगत खर्चतर्फ ३२ करोड ३५ लाख १८ हजार रुपियाँ विनियोजन गरेको छ । बजेटका स्रोतहरूमा संघीय सरकारबाट ४३ करोड ६१ लाख, प्रदेश सरकारबाट नौ करोड चार लाख तीन हजार अनुदान र आन्तरिक स्रोतबाट चार करोड ७५ लाख रुपियाँ संकलन हुने जनाइएको छ।

गाउँपालिकाले आर्थिक विकासतर्फ पाँच करोड ४५ लाख, पूर्वाधार विकासतर्फ १८ करोड ६० लाख, संस्थागत विकास सेवातर्फ एक करोड तीन लाख, सामाजिक विकासतर्फ ३८ करोड ६६ लाख ४९ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ८१ लाख ३५ हजार र कार्यालय सञ्चालनतर्फ ९ करोड ५० लाख रुपियाँ विनियोजन गरेको आगामी आवको बजेटमा छ ।




