हेटौँडा, असार १० गते । मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८७ करोड ७२ लाख ३९ हजार रुपियाँको बजेट ल्याएको छ ।

मंगलबार मनहरी गाउँपालिकामा भएको गाउँसभाको १७ औँ अधिवेशनमा पालिका उपाध्यक्ष सीता पुलामी मगरले चालु आर्थिक वर्षको भन्दा करिब १० करोड कमको बजेट प्रस्तुत गर्नुभएको हो ।
चालु आर्थिक वर्षको बजेट ९७ करोड २७ लाख २८ हजार छ सय रुपियाँ रहेको छ । आगामी आवका लागि आन्तरिक आय तथा बैंक नगदबाट २६ करोड दुई लाख ९० हजार ४६४, संघीय सरकारको वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँट, समपुरक, सशर्त र विशेष अनुदान गरी ५२ करोड ५४ लाख ५४ हजार ५३६ र प्रदेश सरकारको समानीकरण, सशर्त, समपुरक, विशेष अनुदान र सवारी कर बाँडफाँटबाट गरी आठ करोड ९८ लाख ७४ हजार रुपियाँ प्राप्त हुने जनाइएको छ । बाँकी १५ लाख ५० हजार रुपियाँ अन्य संस्थागत अनुदानबाट प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै व्ययतर्फ संघीय सरकारको सशर्त, विशेष र समपुरक गरी २३ करोड ८६ लाख, प्रदेश सरकारको समपुरक, विशेष र सशर्ततर्फ पाँच करोड ४३ लाख ४४ हजार, संघ र प्रदेश सरकारले उपलब्ध गराएको समपुरक बजेटमा गाउँपालिकाको तर्फबाट समेत गरी चार करोड दुई लाख, प्रशासनिक चालु खर्च तथा कार्यक्रम खर्चतर्फ ११ करोड ७३ लाख रुपियाँ हुने अनुमान गरिएको छ ।

यस्तै विषयगत कार्यक्रम क्रियाकलापतर्फ नौ करोड ८३ लाख २८ हजार, वडास्तरीय योजनातर्फ चार करोड ९० लाख र गाउँपालिका स्तरीय योजना र पूर्वाधार विकास योजनामा २७ करोड ९४ लाख ६७ हजार रुपियाँ व्यय हुने अनुमान रहेको गाउँपालिका उपाध्यक्ष मगरद्वारा प्रस्तुत आयव्यय अनुमानमा उल्लेख छ ।

पालिकाले सबैभन्दा बढी बजेट पूर्वाधार विकासतर्फ ३३ करोड ११ लाख ८५ हजार, वित्तीय व्यवस्था सुशासन तथा संस्थागत विकासतर्फ छ करोड चार लाख तीन हजार, आर्थिक विकासतर्फ चार करोड ५५ लाख ४८ हजार, सामाजिक विकासतर्फ ३० करोड ४६ लाख ९३ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ एक करोड ४५ लाख ६० हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक दायित्वतर्फ १२ करोड आठ लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरिएको छ । गाउँ अधिवेशन गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको अध्यक्षतामा भएको थियो ।




