कैलाश गापाको बजेट ५३ करोड ८६ लाख

लोकप्रिय

हेटौँडा, असार १० गते ।
मकवानपुरको कैलाश गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट गाउँसभाको अधिवेसनबाट पारित भएको छ ।

पालिकाको मंगलबार कालिकाटारमा भएको गाउँसभाको १६ औँ अधिवेसनबाट आगामी आवको नीति तथा कार्यक्रम र बजेट पारित भएको हो ।आगामी आवको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न ५३ करोड ८६ लाख २० हजार रुपियाँ बराबरको बजेट विनियोजन गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले गाउँसभाको अधिवेसनमा विनियोजन विद्येयक २०८२ प्रस्तुत गर्दै चालु खर्चतर्फ ३२ करोड ८२ लाख तीन हजार एक सय र पुँजीगत खर्चतर्फ २१ करोड चार लाख १७ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो । आर्थिक विकास शीर्षकको चालुतर्फ एक करोड २५ लाख ९७ हजार र पुँजीगत तर्फ एक करोड ५१ लख ६७ हजार, सामाजिक विकासमा चालुतर्फ २१ करोड १६ लाख १४ हजार र पुँजीगततर्फ दुई करोड ३३ लाख ५० हजार रुपियाँ विनियोजन गरिएको छ ।

यसैगरी पूर्वाधार विकासमा पुँजीगततर्फ खर्च १६ करोड ४४ लाख र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा चालुतर्फ ७० लाख ९२ हजार एक सय तथा पुँजीगततर्फ २२ लाख रुपियाँ विनियोजन गरिएको मल्लले बताउनुभयो । त्यस्तै, वातावरण तथा विपदतर्फ पुँजीगततर्फ ४३ लाख, गाउँपालिका प्रशासनिक खर्चमा चालुतर्फ ३२ करोड ८२ लाख तीन हजार एक सय र पुँजीगत खर्चका लागि १० करोड रुपियाँ विनियोजन गरी प्रस्ताव गरिएको बजेट अधिवेसनले पारित गरेको छ ।

आव २०८२/८३ को बजेटको स्रोत बेहोर्ने क्षेत्रमा आन्तरिक आयबाट दुई करोड ३७ लाख एक हजार ८३०, संघीय सरकारको वित्तीय समानीकरण अनुदान नौ करोड ८३ लाख , सर्शत अनुदान १९ करोड ३४ लाख, राजश्व बाँडफाँड नौ करोड ६७ लाख, विशेष अनुदान ७५ लाख, समपूरक अनुदान दुई करोड ५८ लाख रुपियाँ रहेको छ ।

यस्तै प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ९० लाख ५२ हजार, सर्शत अनुदान १३ करोड ४४ लाख चार हजार विशेष अनुदान ६५ लाख समपूरक अनुदान दुई करोड ६६ लाख र राजश्व बाँडफाँड सवारी साधन कर तीन करोड ७६ लाख २२ हजार गरी ५३ करोड ८६ लाख २० हजार रुपियाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

अधिवेसनमा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुँजी, प्रविधि, सीप र अनुभवलाई स्थानीयस्तरमा उपयोग गर्ने उद्देश्यले युवालाई लक्षित कृषि कार्यमा उत्प्रेरित गराइने बताउनुभयो ।
खानेपानीको लागि एक घर, एक धारा नीतिसँगै एक घर, एक शौचालय निर्माण कार्यक्रम आगामी आवको नीति तथा कार्यक्रममा समावेस गरिएको छ ।

अध्यक्ष मुक्तानले कृषि उपज उत्पादन र बजारीकरणका लागि मासिक रुपमा हाट बजार सञ्चालन, कृषक परिचय पत्र वितरण र पशु बीमामा अनुदानलाई प्राथमिकतामा राखिने बताउनुभयो ।

चेली प्रोत्साहन कार्यक्रम, अध्यक्षसँग विपन्न कार्यक्रम, उपाध्यक्षसँग जनश्रम दान कार्यक्रम, अध्यक्षसँग किशोरकिशोरी अन्तरक्रिया कार्यक्रम, जेष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रमहरुलाई थप सुदृढ गरी आगामी आवमा पनि निरन्तरता दिइने भएको छ । दीर्घरोगी नागरिक लक्षित गरी कैलाश बन्दैछ, बाआमालाई सञ्चै छ भन्ने नाराका साथ आगामी आवमा स्वास्थ्य शिविर गर्ने, पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई निरन्तरता दिने र गर्भवती तथा सुत्केरी पोषण प्रवद्र्धन तथा रक्षा कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
सभामा लेखा समितिको प्रतिवेदन संयोजक सूर्यबहादुर ब्लोनले प्रस्तुत गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles