खासकुरा संवाददाता
हेटौँडा, असार ११ गते । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा हेटौँडामा रोजगार महोत्सव आयोजना गरिनेभएको छ । 

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको सहयोगमा यही असार १४ र १५ गते हुने महोत्सव युवालाई रोजगारमा जोड्ने लक्ष्यसहित आयोजना गर्न लागिएको हो ।

आयोजकले बुधबार हेटौँडामा पत्रकार सम्मेलन आयोजना गरी करिब तीन दर्जन स्वदेशी तथा विदेशी उद्योग प्रतिष्ठान महोत्सवमा सहभागी हुने जनाएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले महोत्सव अवधिमा करिब पाँच जनाले रोजगारी पाउने आकलन गरिएको जानकारी दिनुभयो ।

उहाँले रोजगारीको खोजीमा रहेका युवा महोत्सवबाट लाभान्वित हुने भन्दै महोत्सव अवधिमा विज्ञहरुसँग परामर्श र छलफल हुने बताउनुभयो । साथै युवा उद्यमीलाई प्रोत्साहित गर्ने, व्यवसाय सुरु गर्ने प्रक्रियाका बारेमा जानकारी गराउनेलगायतका गतिविधि महोत्सव अवधिमा हुने पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश कोषाध्यक्ष कविराज खत्री र मउवासंघका उपाध्यक्ष उज्ज्वल चौलागाईले बताउनुभयो ।




