खासकुरा संवाददाता
हेटौँडा, साउन ४ गते । हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिमाथि दुर्व्यवहार र आक्रमणमा संलग्न भएकालाई पक्राउ नगरेपछि जनप्रतिनिधि आन्दोलनमा उत्रिएका छन् ।
जनप्रतिनिधिमाथि दुर्व्यवहार र आक्रमणको घटना भएको एक महिना बित्दासमेत उक्त घटनामा संलग्न भएकाहरुलाई पक्राउ नगरेपछि स्थानीय प्रहरी, प्रशासन विरुद्ध आइतबारबाट जनप्रतिनिधि आन्दोलनमा उत्रिएका हुन् ।
जिल्ला प्रशासन कार्यालयभित्रै कालो ब्यानरसहित हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँसहित वडाध्यक्षहरु धर्नामा बसेका थिए ।
वडा कार्यालयमा बसेर काम गर्दा असुरक्षित भएपछि सिडियो कार्यालय परिसरबाटै सेवा प्रवाह गर्ने भन्दै टेबुल राखेर वडाध्यक्षहरु सेवा प्रवाहका लागि बसेका थिए ।
गत असार ४ गते अपरान्ह हेटौँडा उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नं. १ का वडाध्यक्ष सविन न्यौपानेमाथि कार्यकक्षमा नै आक्रमण भएको थियो । नगर उपप्रमुख बानियाँले जनप्रतिनिधिनै असुरक्षित भएको भन्दै आक्रमणकारीलाई पक्राउ गर्न चासो नदेखाइएको बताउनुभयो । सार्वजनिक जग्गाको विषयमा भएको उक्त आक्रमणमा संलग्न भएकालाई पक्राउ र कारबाहीको दायरा ल्याउन पटक पटक आग्रह गर्दा सुनुवाई नभएकोले आन्दोलनमा उत्रन बाध्यभएको न्यौपानेले बताउनुभयो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकार स्किम श्रेष्ठ र जिल्ल प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्कासँग दोषीलाई पक्राउ गर्न जिल्लाका राजनीति दललगायतका सबैको साथ भएपनि पक्राउ गर्न ढिलाई गरेको वडाध्यक्ष न्यौपानेले बताउनुभयो ।
यस्तै वडा नं. १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले अहिलेको प्रहरी र प्रशासनको प्रमुखले शान्ति सुरक्षा दिन नसकेपछि बाध्यभएर जिल्ला प्रशासन कार्यालयमा विरोध कार्यक्रम गर्न आउनुपर्ने अवस्था आएको बताउनुभयो ।
जनप्रतिनिधिहरु धर्ना बसेको स्थलमा पुग्नुभएको प्रहरी उपरीक्षक खड्काले आक्रमणको घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएको र बाँकीको खोजी भईरहेको बताउनुभएको थियो ।
विरोध कार्यक्रम गर्न गएका जनप्रनिधिलाई प्रहरीले रोक्न खोजेपछि प्रहरी र जनप्रतिनिधिबिच भनाभनको अवस्था आएको थियो ।
