हेटौँडा, साउन ४ गते । गजल मञ्च मकवानपुरको २२६औँ गजल यात्रा साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त सभाहलमा सम्पन्न भएको छ । शनिबार भएको गजलयात्राका क्रममा गजलकार रामकृष्ण अनयासको गजल कृति ‘अनायास’ माथिको विशेष विमर्श गरिएको थियो।
गजल मञ्च चितवनका अध्यक्ष समेत रहनुभएका गजलकार अनयासले कार्यक्रममा दुई चरणमा गरी पाँच उत्कृष्ट गजल वाचन गर्नु भएको थियो ।
गजल मञ्च मकवानपुरका अध्यक्ष संजित श्रेष्ठको अध्यक्षता तथा गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष देवराज तिवारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गजल मञ्च चितवनका पूर्व अध्यक्ष रमेश प्रभात, अग्रज साहित्यकार रमेशमोहन अधिकारी, र महाकाव्यकार श्रीमती मुना अर्यालको उपस्थिति रहेको थियो ।
‘अनायास’ गजल कृतिमाथिको विमर्श सत्रमा गजल मञ्च चितवनका पूर्व अध्यक्ष रमेश प्रभात र झरना साहित्यिक परिवारका अध्यक्ष विश्वनाथ सञ्जेलले आफ्नो समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुभयो। उहाँहरूले कृतिको भाषिक सौन्दर्य, गहिरो भाव सम्प्रेषण र गजल संरचनाको सशक्त प्रयोगको चर्चा गर्दै ‘अनायास’ कृति नेपाली गजल क्षेत्रका लागि एउटा सशक्त कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो।
नियमित गजल वाचन सत्रमा अनुसुया खनाल, स्वस्तिका बानियाँ, स्वस्तिका दाहाल, राम कार्की, मिथिला अधिकारी, मनोज मधुर, सागर तिमल्सिना, सानु खनाल र गौरी कँडेलले गजल प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गजल मञ्च चितवनका निवर्तमान अध्यक्ष लेखराम सापकोटा र साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डी.बी. बर्ताैलाले चितवन र मकवानपुरबीचको साहित्यिक सम्बन्ध अझ सुदृढ बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको औंल्याउनुभयो।
गजल मञ्च मकवानपुरका संरक्षक÷सल्लाहकार मुक्ति गोविन्द वैद्य, पूर्व अध्यक्ष यश लामा, निवर्तमान अध्यक्ष केशव समर्पण, झरना साहित्यिक परिवारका सचिव मसान उपासक, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिना, नेपाली लेखक सङ्घ मकवानपुरका अध्यक्ष छवि अनित्य, प्रलेश मकवानपुरका अध्यक्ष विशाल अधिकारी ‘आशुतोष’, चितवनबाट गजल मञ्चका उपाध्यक्ष कमल अर्याल, सदस्य सुमन अविरललगायतको कार्यक्रममा उपस्थिति रहेको थियो।
गजल मञ्च मकवानपुरले हरेक महिनाको पहिलो शनिबार नियमित गजल यात्रा आयोजना गर्दै आइरहेको छ ।
