रसुवा,साउन ४ गते । रसुवागढी-स्याफ्रुबेसी सडक आजबाट संचालनमा आएको छ । गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक अयोजनाका अनुसार लिङलिङको सडक मर्मत तथा निमार्ण गरेसँगै सडक संचालनमा आएको हो ।
१२ दिन देखिको निरन्तर प्रयासपछि लिङलिङ र फयाङलुङ खोलाको बीच भागमा रहेको करिब दुई सय मिटर सडक निमार्ण गरेसँगै आजबाट सडक सुचारु भएको आयोजनाका इन्जिनियर रुपनारायण पौडेले बताउनुभयो ।
रसुवामा गत २४ गते मंगलबार विहान चीनको लेन्दे खोलाबाट आएको बाढीले स्याफ्रुबेशीदेखि रसुवागढीसम्मको दश स्थानमा कटान गरेको थियो ।
कटान गरेको सडक दुबैतर्फ बाट काम गरी अस्थायी रुपमा भए पनि सञ्चालनमा ल्याउन सफल भएको आयोजनाले जनाएको छ ।
हाल ट्र्याक खुलाउन मात्र सफल भएकोले तत्काललाई साना गाडी चलाउने र थप मर्मत गरी ठूला गाडीहरु पनि चलाउन मिल्ने बनाउने पौडेले बताउनुभयो ।
नेपाल र चीनको सिमाना रसुवागढीमा चीन तर्फबाट पनि कटान गरेका भागहरुको मर्मत तथा लेन्दे खोलामा तत्काल बेलिबृज निमार्णका लागि चिनीयाँ पक्षले काम गरिरहेकोले रसुवागढीमा पनि बेलिबृज छिट्टै निमार्ण हुनेछ ।
