काठमाडौँ, साउन ७ गते ।
नेकपा एमालेका केन्द्रीय सदस्य जगन्नाथ थपलियाले राष्ट्रियताको रक्षार्थ केपी शर्मा ओलीको नेतृत्वको विकल्प नरहेको बताउनुभएको छ । काठमाडौँमा सम्पन्न एमालेको दुई दिने केन्द्रीय समिति बैठकमा नेता थपलियाले पार्टीभित्र ऐक्यबद्धता र अनुशासनको आवश्यकता भएको बताउनुभयो ।
थपलियाले पार्टीको सुदृढीकरण र अनुशासन कायम राख्न नेतृत्वले कडाइका साथ निर्णय लिनुपर्ने र पार्टीभित्रको विश्वसनीयता र सार्वजनिक छवि सुदृढ गर्न सबैले जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो “राष्ट्रियताको रक्षाका लागि केपी ओली एकमात्र नेता हुनुहुन्छ,विकल्प खोज्नु भनेको हामी कमजोर हुनु हो।“
ओली पार्टी र सरकारको नेतृत्वमा आएपछि धेरै महत्वपूर्ण कामहरु भएको नेता थपलियाको भनाई छ ।
एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहनुभएको थपलियाले पार्टीको जिल्लास्तरको संगठनलाई समन्वयमा ल्याएर पालिका र प्रदेश सरकारलाई प्रभावकारी कार्यान्वयन निकाय बनाउनु जरुरी रहेको धारणा राख्दै पार्टीभित्रको एकता र नेतृत्वप्रति आस्था मजबुत बनाउने दिशामा सबै तहका नेताहरूले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
नेता थपलियाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत पार्टी र नेताहरूमाथि भइरहेका अनावश्यक प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। “सामाजिक सञ्जाल अहिलेको आकर्षण हो, तर यसलाई सकारात्मक प्रभाव पार्नेगरी सदुपयोग गर्नुपर्छ,” ।
पार्टीका जिम्मेवारीमा बसेर पनि पार्टीविरुद्ध क्रियाकलाप गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा नेता थपलियाले स्पष्ट भनाई राख्नुभयो। उहाँले भन्नुभयो , पार्टीले गरेका राम्रा कामहरूलाई छायाँमा पार्न कतिपय व्यक्तिहरू आफ्नै पार्टीभित्रबाट षड्यन्त्र गरिरहेको भन्दै उहाँले भन्नुभयो “यस्तो कार्यलाई सहन सकिन्न, छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउनुपर्छ।”




