खासकुरा संवाददाता
हेटौँडा, साउन १३ गते । नेपाली कांग्रेस संसदीय दलका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई जना प्रदेश सभा सदस्यले नाम फिर्ता लिएका छन् ।
नेता लामाविरुद्ध गत शुक्रबार दर्ता भएको अविश्वास प्रस्तावमा समर्थन गरेको प्रदेश सभा सदस्य माया श्रेष्ठ र मीना पराजुलीले नाम फिर्ता लिनुभएको हो । दुवै जनाले संयुक्त विज्ञप्ति जारी गर्दै जानकारीबिनै हस्ताक्षर गराएको भन्दै नाम फिर्ता लिएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘बागमती प्रदेश संसदीय दलका नेता मा. बहादुरसिंह लामा (तामाङ) को विरुद्धमा परेको अविश्वासको प्रस्तावमा हामी समेतको हस्ताक्षर संकलन गरिएकामा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा चाहिँ जानकारी नै नगराई हस्ताक्षर गराइएकामा सोमा हामीहरूको असहमति रहेकाले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता मा. बहादुरसिंह लामा (तामाङ) लाई समर्थन रहेको व्यहोरा अवगत गराउँदछौं ।’
कांग्रेसका ३७ प्रदेश सांसदमध्ये सुरुमा २१ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए । प्रदेश सभापति तथा प्रदेश सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता गरिएको हा । लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् ।
संसदीय दलको नेताबाट लामालाई हटाउन भन्दै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने चार जना मन्त्रीलाई मुख्यमन्त्री लामाले पदमुक्त गर्नुभएको थियो । लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै बागमती प्रदेश सरकारसँगै कांग्रेसमा अस्थिरताको श्रृङ्खला सुरुभएको छ ।




