खासकुरा संवाददाता
हेटौँडा, साउन १५ गते । बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको आयोजनामा प्रदेशको दोश्रो आवधिक योजनाका बारेमा छलफल गरिएको छ ।
प्रदेशभित्र कामगर्ने विकास साझेदारहरुसँगको गत बिहीबार भएको कार्यशाला गोष्ठीमा दोश्रो आवधिक योजनाको कार्यान्वयनका बारेमा छलफल भएको आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिनुभयो ।
बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०८१।८२ बाट कार्यान्वयनमा ल्याएको दोश्रो आवधिक योजनाले सडकको स्तरोन्नति, कृषि, उद्योग, पर्यटन मार्फत आर्थिक विकास, शिक्षा र स्वास्थ्य सेवाको सर्वसुलभ पहुँच र प्रभावकारी प्रवाहमा जोड दिएको छ ।
चालु आवधिक योजनाको “बागमती प्रदेशको रुपान्त्तरणः आर्थिक समृद्धि र समतामूलक समाज” भन्ने यसको मूल मर्म रहेको छ । उक्त गोष्ठीमा प्रदेशमा काम गर्ने ४० भन्दा बढी विकास साझेदार संस्थाको सहभागिता थियो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको प्रमुख आतिथ्यता तथा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नेपालको अध्यक्षतामा गोष्ठीभएको थियो । गोष्ठीमा बागमती प्रदेशका प्रमुख सचिव भुपाल बराल, प्रदेश तथा स्थानीय तह सवलीकरण परियोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक रुद्रसिंह तामाङलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा आयोगले प्रकाशन गरेको विकास जर्नल सार्वजनिकीकरण गरिएको थियो ।
विकास साझेदार संस्थाहरुले गरिहेका कामका बारेमा प्रस्तुतिकरण गोष्ठीमा भएको छलफलबाट दिगो विकास लक्ष्य, सोह्रौँ योजनको लक्ष्य र आवधिक योजनाले लिएको लक्ष्यमा पुग्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रदेशको समृद्धि एवं सन्तुलित र दीगो विकास कार्यलाई तीव्रता दिन अध्ययन र विश्लेषणका आधारमा प्रदेश सरकारको नीति तथा योजना तर्जुमा गर्ने र त्यसको कार्यान्वयनमा सहजीकरण, अनुगम तथा मूल्याङ्कन, तहगत समन्वय र खोज अनुसन्धान गरी प्रदेश सरकारलाई सल्लाह र सहयोग प्रदान गर्ने कार्य आयोगले गर्दै आएको छ ।




