हेटौँडा, साउन १५ गते । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ स्थित भुटनदेवी माध्यामिक विद्यालय परिसरमा बागमती प्रदेश सरकारको लगानीमा बृहत घरेलु तथा उद्योग उपज प्रदर्शनी भवन निर्माण गरिएको छ ।
नवनिर्मित उक्त भवनको बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङले बिहीबार उद्घाटन गर्दै प्रदर्शनी भवन सञ्चालनमा आएपछि घरेलुलगायत स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।
बागमती प्रदेशको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौँडामार्फत निर्माण गरिएको नवनिर्मित भवन सञ्चालन एवं व्यवस्थापन गर्न भुटनदेवी माविलाई हस्तान्तरण गरिएको छ ।

मूल्य अभिवृद्धि करसहित पाँच करोड ८२ लाख ४९ हजार ९९६ रुपियाँको लागतमा भवन निर्माण गर्ने गरी २०७८ असोज ७ गते ठेक्का सम्झौता गरिएकोमा पछि भेरियसनसहित भन्दै निर्माण लागत बढाएर निर्माण कम्पनीलाई छ करोड १९ लाख तीन हजार ८०३ रुपियाँ भुक्तानी गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।
उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक पुष्कर चन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य भारती पाठक, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौँडा ४ का वडाध्यक्ष नवीन सिग्देल, वडा नं. १० का वडाध्यक्ष फुर्वा दोर्जे तामाङलगायतको उपस्थिति रहेको थियो । वडाध्यक्ष सिग्देलले कार्यविधि बनाएर प्रदर्शनी भवन सञ्चालन गरिने बताउनुभयो ।
निर्देशनालयका अधिकृत रमेश पौडेललगायतले प्रदर्शन भवनमा बागतमी प्रदेश भित्रका १३ वटै जिल्लाको पहिचान भएका मुख्य मौलिक उत्पादनहरुको प्रदर्शनी गर्ने व्यवस्था रहेको बताउनुभयो ।




