काठमाडौं, साउन २४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ किलो ७० ग्राम सहित मकवानपुर थाहा नगरपालिका-२ दामन घर भएका ३२ वर्षीय किरण तामाङ शुक्रबार बिहान पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैङ्कक जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ५ सय ट्याब्लेट, नाईट्राभेट १५ हजार ट्याब्लेट, नोर्फिन ७ सय ७० एम्पुल, फेनारगन ७ सय ३० एम्पुल र डाईजेपाम ७ सय ३० एम्पुल सहित भारत सितामणी बस्ने ४० वर्षीय ईम्तीयाज राईन खानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २६८७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।




