पत्रकारद्वय नयाँघरे र श्रेष्ठ सम्मानित

लोकप्रिय

रामेछाप, साउन २४ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) को स्थापना दिवसका अवसरमा फोनिज रामेछापले पत्रकारद्वय बद्री नयाँघरे र ज्ञानु श्रेष्ठलाई सम्मान गरेको छ ।
फोनिजको २६ औँ स्थापना दिवशको अवसरमा शनिबार आयोजित कार्यक्रम नेपाल पत्रकार महासंघ रामेछापका निर्वतमान अध्यक्षसमेत रहनुभएका नयाँघरे र नेपाल प्रेस युनियन रामेछापकी अध्यक्ष श्रेष्ठलाई सम्मान गरेको हो ।
मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले मन्थलीमा आयोजित कार्यक्रममा पत्रकारद्वय नयाँघरे र श्रेष्ठलाई नगद राशिसहित सम्मान गर्नुभएको थियो ।
स्थापना दिवशका अबसरमा फोनिजले फोनिजकर्मीहरु मध्येबाट एक जना र जनजातिको सवालमा खोजमूलक समाचार लेख्ने एक जना पत्रकारलाई सम्मान गर्दै आएको छ ।
नयाँघरे विगत ३० वर्षदेखि र श्रेष्ठ १५ वर्षदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरे, पूर्व अध्यक्षहरु हिमाल ढुंगेल र टिकाप्रसाद भट्टलगायतले बोल्नुभएको थियो ।

ताजा समाचार

Related Articles