हेटौँडा, साउन २४ गते । जिल्ला प्रहरी कार्यालय कास्कीले करिब साढे छ केजी अवैध सुन चाँदीसहित ११ जना भारतीय नागरिक पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार पत्रकार सम्मेलन आयोजना गरी अप्रेसन एल्लो मेटल अभियानका क्रममा छ किलो चार सय ग्राम सुनसहित ११ जना पक्राउ गरेको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले पोखरा महानगरपालिका वडा नं. २, ३, ४ र ९ का वडा क्षेत्रहरुमा अवैध तरिकाले सुन तथा चाँदीको कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा शुक्रबार दिउँसो ४ः०० बजेको समयमा संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुमा भारतको महाराष्ट्र, साग्ली जिल्ला घर भई हाल पोखरा महानगरपालिका वडा नं. २ मोहरिया टोल बस्ने वर्ष ४२ का राजेन्द्र रामचन्द्र जगताप, भारतको कलकत्ता, मेद्रापुर जिल्ला घर भई हाल पोखरा मनपा २ मोहरीया टोल बस्ने वर्ष ४५ का मनिक लाल आदक र भारतको पश्चिम बंगाल, हुग्ली घर भई हाल पोखरा मनपा १ बिन्दावासिनी बस्ने वर्ष ३५ का सन्दिप ढाव रहेका छन् ।
यस्तै भारतको पश्चिम बंगाल, बाकुला घर भई हाल पोखरा मनपा २ मोहरीया टोल बस्ने वर्ष ४१ का सोमनाथ पाल, पश्चिम बंगाल, कलकत्ता घर भई हाल पोखरा मनपा ४ तेर्सापट्टी बस्ने वर्ष ४७ का दीपक सामन्त र पश्चिम बंगाल, मेद्रापुर घर भई हाल पोखरा मनपा ३ बस्ने वर्ष ४७ का गोविन्दा दिण्डा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले भारत कलकत्ता, हाउडा घर भई हाल पोखरा मनपा ९ चिप्लेढुङगा बस्ने वर्ष ३५ का असित वर, पश्चिम मेद्रापुर घर भई हाल पोखरा मनपा २ मोहरीया टोल बस्ने वर्ष ४४ का तापस सामन्त, पोखरा मनपा २ भैरवटोल बस्ने वर्ष ३८ को उज्वल भोमिक, महाराष्ट्र, पुने घर भई हाल पोखरा मनपा ८ सभागृह बस्ने वर्ष ४० की सुनिता पवार, पोखरा मनपा २ मोहरीया टोल बस्ने वर्ष ४९ का प्रोभास माझीलाई पक्राउ गरेको छ ।
प्रहरीले राजेन्द्र रामचन्द जगतापबाट सुन ११ तोला २०.६ लाल, चाँदी २९६ तोला ३३ लाल र नगद एक लाख ६० हजार पाँच सय, मनिक लाल आदकबाट सुन १३ तोला १७ लाल, चाँदी १० तोला ५५ लाल, सन्दिप ढावबाट सुन ३ तोला ८ लाल, सोमनाथ पालबाट सुन १२ तोला १२.७ लाल, चाँदी ९ तोला ५९.४ लाल बरामद गरेको छ ।
यस्तै, दीपक सामन्तबाट सुन ३८ तोला ५ लाल, चाँदी ३० तोला ११ लाल, गोविन्द दिण्डाबाट सुन २१० तोला ८९ लाल, असित वरबाट सुन ८६ तोला ८७.१ लाल र चाँदी ३१.५ लाल, तापस सामन्तबाट सुन २४ तोला १५ लाल, उज्वल भोमिकबाट सुन ५ तोला ४६.९ लाल र सुनिता पवारबाट सुन २ तोला ५० लाल, चाँदी ९३ तोला ६१ लाल बरामद गरेको प्रहरीको भनाई छ ।
कास्की प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई बरामद गरिएको सामान सहित आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने भएको छ ।




