रसुवा, साउन २६ गते । जनैपूर्णिमाको अवसरमा रसुवाको पबित्र तिर्थस्थल गोसाइँकुण्डमा लाग्ने मेला सम्पन्न भएको छ । नागपचमीदेखि सुरु भई साउन शुक्ल पुर्णीमा अर्थात जनैपूर्णिमाका दिनसम्म लाग्ने मेलामा करिब दश हजार भत्तजनहरुले गोसाईकुण्डमा स्नान गरी पूजाआराधना गर्दै मेला भरेको गोसाईकुण्ड क्षेत्र बिकास समितिले जनाएको छ । उच्च हिमाली क्षेत्र भएकाले मेलामा आउने भत्तजनहरुका लागि लेक लागेर पर्न सक्ने समस्यालाई गोसाँइकुण्ड गाँउपालिका, जनस्वास्थ्य कार्यालय, रसुवा अस्पताल, हिमालय उद्घार समाज, योङ कम्युनिष्ट लिग तथा अनेरास्वबियू क्रान्तिकारी, र लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ श्रीनाथगणले निशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरेका थिए ।

मेलामा नेपाल प्रहरी शसस्त्र प्रहरी नेपाली सेनाको उद्धार टोली समेत तयार गरि परि चालन गरिएको थियो । पौराणिक कथन अनुसार परापुर्व कालमा देवता र दानव विच लडांई हुंदा समुन्द« मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरि विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाईवावा भगवान शिव शंकरले आफ्नो हातमा भएको त्रिशुलले भितामा हिर्काउँदा भिताबाट गंगाजल अर्थात त्रिशुल धाराको उत्पति भई त्रिशुल धाराको पानीबाट गोसाईकुण्डको उत्पति भएको भन्ने किम्बदन्ती रहेको पाईन्छ ।

कुण्डमा स्नान गरि गोसाईवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफुले चित्ताएको सवै मनोकांक्षाहरु पुरा हुने जनविश्वासका साथ वर्षेनि हजारौं हजार भक्तजनहरु कुण्डमा स्नान गर्न आउने गर्दछन् । समुद्रि सतह देखि ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको गोसाईकुण्ड सन् २००७ सेप्टेम्वरमा रामसार सुचिमा समेत सुचिकृत छ । गोसाईकुण्ड गाउँपालिका-५ मा अवस्थित गोसाईकुण्डमा हरेक बर्ष गंगादशहरा र जनैपूर्णिमामा गरि २ पटक मेला लाग्ने गर्दछ । धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् । काठमाडौं–धुन्चे–गोसाइँकुण्ड पदमार्ग भने यात्रुहरु सबैभन्दा बढी चल्ती हुने बाटो हो । -नेपालटिभी अनलाइनबाट ।




